निजामती सेवा दिवसको अबसरमा बृक्षारोपण



सल्यान,भदौ २२ । सल्यानमा १८ औँ निजामती सेवा दिवसको अवसरमा बृक्षारोपण गरिएको छ। सल्यान जिल्ला अदालतका न्यायाधिश कुलप्रसाद पाण्डेको प्रमुख आतित्थ्यतामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रसेवक कर्मचारी बृक्षारोपण अभियानमा हातेमालो गर्दै नेपाली सेनाको सबुज गण परिसरसंगै जोडिएको हेप्रोन डाँडा राष्ट्रिय वन क्षेत्रमा बृक्षारोपण गरिएको हो।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै जिल्ला न्यायाधीश पाण्डेले निजामती कर्मचारी विना सार्वजनिक सेवा प्रवाह सम्भव नहुने बताउनुभयो। उहाँले भन्नुभयो,’जसरी विरुवाबाट प्राप्त हुने अक्सिजनविना मानव जीवन सम्भव छैन, त्यसैगरी निजामती कर्मचारी विना सार्वजनिक सेवा प्रवाह सम्भव छैन।’यस प्रकारका दिवसले जनमुखी सेवा प्रवाहमा थप उत्प्रेरणा जगाउने उहाँको भनाई छ ।

यसै गरि प्रमुख जिल्ला अधिकारी लक्षमिदेवि होमागाई( खतिवडा)ले स्थायी सरकारको रुपमा रहेको निजामती प्रशासनको महत्व वारे प्रकास पार्दै जनमुखी सेवा प्रवाह गर्न जिल्ला स्थित कार्यालय प्रमुखहरुलाइ निर्देशन दिनुभयो।कार्यक्रममा सहभागी न्यायाधिश पाण्डेसहितका प्रजिअ, जिल्ला समन्वय अधिकारी, सबुज गणका प्रमुख सेनानी, सुरक्षा प्रमुखहरु तथा सुरक्षाकर्मी, पत्रकार, आधिकारिक ट्रेड युनियन लगायत जिल्लास्थित कार्यालयका प्रमुख तथा कर्मचारीहरूहरुले बृक्षारोपण गरेका थिए।

दिवसका अवसरमा तेजपात, काउलो, रिठा, सिमल, खयर, बकाइनो, काफल, हर्रो, बैँस लगायतका जम्मा ३ हजार एक सय बिरुवा रोपिएको छ । ३ हेक्टर क्षेत्रमा रोपण गरिएका बिरूवाको पूर्णरूपमा संरक्षण तथा स्याहार सम्भार सबुज गणले गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्