शरद् ऋतुमा ४४ हिमाल चढ्न ७६ देशका १ हजार ४१० आरोहीलाई अनुमति



काठमाडौँ,कात्तिक १२ । शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका एक हजार ४१० आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार आरोहणका लागि १६१ टोलीले अनुमति लिएका हुन्।

विभागकी शाखा अधिकृत सुधा रेग्मीका अनुसार अनुमति लिनेमा एक हजार ६९ पुरुष र ३४१ महिला छन्। आरोहण अनुमति जारी गरेबापत विभागले ३१ करोड ८० लाख ५० हजार ७७८ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ।

यस सिजनमा सबैभन्दा धेरै आरोहीले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका छन्। आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहण गर्न ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन्। उनीहरूबाट २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी सङ्कलन भएको छ।

त्यस्तै, आमादब्लम हिमाल आरोहणका लागि ३२ टोलीका ३८६ जनाले अनुमति लिएका छन्। यसबाट पाँच करोड ७६ लाख ९९ हजार ६५० रुपैयाँ रोयल्टी सङ्कलन भएको छ। हिम्लुङ हिमाल आरोहणका लागि १२ टोलीका १२१ जनाले अनुमति लिँदा ७४ लाख २७ हजार ७२० रुपैयाँ रोयल्टी उठेको छ।

धौलागिरि प्रथम हिमाल आरोहणका लागि छ टोलीका ३७ जनाले अनुमति लिएका छन्। यसबाट ८४ लाख ७३ हजार ६५० रुपैयाँ रोयल्टी सङ्कलन भएको छ। मकालु हिमाल आरोहणका लागि भने एउटा टोलीका तीन जनाले अनुमति लिएका छन्।

आरोहण अनुमति लिनेमा चीनका सबैभन्दा धेरै १४१ जना छन्। त्यस्तै, फ्रान्सका १३०, अमेरिकाका ११९, रुसका १०८, बेलायतका ९६, स्विट्जरल्यान्ड र इटालीका ४७–४७, भारतका ४०, पोल्यान्डका ४१, जापानका ३५, नेपालका ३३ र स्पेनका ३१ जना आरोही छन्।

यस सिजनमा पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से, गङ्गापूर्णा पश्चिम, थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण चौथो, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ र जुगललगायतका हिमाल आरोहणका लागि पनि अनुमति जारी गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्