विपद्को पीडामाथि चोरीको अर्को चोट, नुवाकोटमा सुरक्षा चुनौती बढ्दै
नुवाकोट, कात्तिक १२ । विपद्ले थिलथिलो बनाएको नुवाकोटमा पछिल्लो समय चोरीका घटनासमेत बढ्न थालेका छन्। बाढीले पुर्याएको क्षतिबाट उठ्ने प्रयासमा रहेका नागरिकलाई घर र पसलमा भएका चोरीका घटनाले थप चिन्तित बनाएको छ। दसैँको मौका पारेर भएको लाखौँको धनमाल चोरीदेखि घरमा कोही नभएको मौका छोपेर गरगहना र नगद चोरिएका घटनाले जिल्लाको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।
गएको साता लिखु गाउँपालिका–६ स्थित छहरे बजारमा ज्ञानबहादुर डङ्गोलको थोक पसल फोडेर लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भयो। दसैँको चहलपहल र व्यस्तताबीच भएको उक्त घटनामा संलग्न व्यक्ति कार चढेर हिँड्ने गरेको दृश्य पसल आसपासको सिसिटिभीमा कैद भएको बताइएको छ। यद्यपि प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
छहरे बजारमा भएको चोरीको घटना सेलाउन नपाउँदै शिवपुरी गाउँपालिकाको थानापति क्षेत्रमा पनि चोरीका घटना सार्वजनिक भएका छन्। प्रहरीका अनुसार चोरीमा संलग्न व्यक्तिले विभिन्न बहानामा घर तथा पसलमा पुगेर आसपासको अवस्था बुझ्ने र मौका छोपेर चोरी गर्ने गरेको हुन सक्ने भएकाले सर्वसाधारणले सतर्कता अपनाउन आवश्यक छ।
यस्तै, बुधबार विदुर नगरपालिका–५ लामिबगैँचा, पिपलटारमा अर्को चोरीको घटना भयो। स्थानीय तारा घलेको घरबाट साढे पाँच तोला सुनका गरगहना र २० हजार रुपैयाँ नगद चोरी भएको पीडितले बताएका छन्। दिउँसो घरमा कोही नभएको मौका छोपेर चोरी भएको घलेको भनाइ छ।
भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो क्षति बेहोरेको नुवाकोटमा नागरिक अझै सामान्य जनजीवनमा फर्किने प्रयासमा छन्। यस्तो अवस्थामा घरमा राखेको धनमालसमेत सुरक्षित नहुँदा पीडित परिवारको चिन्ता थपिएको छ। विपद्बाट प्रभावित नागरिकलाई राहत, पुनःस्थापना र जीविकोपार्जनको चुनौती छँदैछ, त्यसमाथि चोरीका घटनाले असुरक्षाको अनुभूति बढाएको छ।
स्थानीय सामाजिक युवा हरिशरण गजुरेलले चोरीका घटना न्यूनीकरण गर्न सम्बन्धित निकायले तत्काल सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ। उहाँले विभिन्न टोलका चोक तथा संवेदनशील स्थानमा सिसिटिभी क्यामेरा जडान गर्न र सुरक्षा निकायले विशेष निगरानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
प्रहरी स्रोतका अनुसार जिल्लामा भएका केही चोरीका घटनामा व्यक्तिहरू व्यावसायिक रूपमा संलग्न हुन सक्ने आशङ्का गरिएको छ। यद्यपि, घटनामा संलग्न व्यक्तिको पहिचान र चोरीका घटनाबीचको सम्बन्ध अनुसन्धानबाट पुष्टि हुन बाँकी छ।
चोरीका घटना रोक्न प्रहरीको निगरानीसँगै नागरिकको सतर्कता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। घर तथा पसल बन्द गरेर बाहिर निस्कँदा सुरक्षा व्यवस्था मिलाउने, अपरिचित व्यक्तिको गतिविधिप्रति सचेत रहने र शङ्कास्पद गतिविधि देखिएमा प्रहरीलाई जानकारी गराउने कामले जोखिम कम गर्न मद्दत पुग्न सक्छ।
विपद्को घाउ निको पार्दै पुनःस्थापनाको बाटोमा अघि बढिरहेको नुवाकोटमा नागरिकले आफ्नो धनमालको सुरक्षाबारे थप चिन्ता गर्नुपर्ने अवस्था आउनु सुखद होइन। त्यसैले चोरीका घटनाको निष्पक्ष अनुसन्धान, प्रभावकारी गस्ती र स्थानीयस्तरमा सुरक्षा निगरानी बढाउनु अहिलेको आवश्यकता बनेको छ।

