बारामा ८ मेगावाट सौर्य विद्युत् उत्पादन हुँदै, ४८ करोड लगानी



बारा,कात्तिक १२ । तराई–मधेश क्षेत्रमा सौर्य ऊर्जाबाट विद्युत् उत्पादन विस्तार भइरहेका बेला बाराको परवानीपुरमा आठ मेगावाट क्षमताको सौर्य विद्युत् आयोजना सञ्चालनको अन्तिम तयारीमा पुगेको छ।

अपी पावर कम्पनी लिमिटेडको ४८ करोड रुपैयाँ लगानीमा निर्माण भएको आयोजना अबको केही दिनमै सञ्चालनमा ल्याउने तयारी भइरहेको आयोजनाका व्यवस्थापक अस्लम देवानले जानकारी दिनुभयो।

परवानीपुरस्थित नेपाल विद्युत् प्राधिकरणको ११ केभी सबस्टेसन नजिकै भलुही क्षेत्रमा निर्माण गरिएको आयोजनामा १३ हजार ६ सयभन्दा बढी सौर्य प्यानल जडान गरिएका छन्। औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति र भोल्टेजको अनियमितता सम्बोधन गर्न आयोजना उपयोगी हुने अपेक्षा गरिएको छ।

आयोजनाका लागि १३ बिघा जमिन भाडामा लिइएको छ। सञ्चालनमा आएपछि प्रत्यक्ष रूपमा १० जनाले रोजगारी पाउनेछन्।

अपी पावरले मधेश प्रदेशमा तीनवटा सौर्य ऊर्जा आयोजना सञ्चालनमा ल्याइसकेको छ भने परवानीपुरमा चौथो आयोजना निर्माण सम्पन्न गरेको हो।

बारा–पर्सा औद्योगिक करिडोरमा उद्योगको सङ्ख्या र विद्युत्को माग बढिरहेका बेला थप आठ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनु महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ। जलविद्युत् उत्पादन तथा प्रसारणमा मौसमी र प्राविधिक समस्या देखिँदा सौर्य ऊर्जा वैकल्पिक स्रोतका रूपमा उपयोगी हुन सक्नेछ।

यसैबीच, औद्योगिक क्षेत्रमा सौर्य विद्युत् उत्पादन विस्तार गर्न सर्वोत्तम स्टिल्ससँग सम्बन्धित ३३ मेगावाट क्षमताको आयोजना पनि अघि बढिरहेको छ। विद्युत् विकास विभागको विवरणअनुसार उक्त आयोजनाका लागि छुट्टै ३३ केभी प्रसारण लाइनको सर्वेक्षणसमेत भइरहेको छ।

पर्याप्त घाम र खुला जमिन उपलब्ध रहेको तराई–मधेश क्षेत्रमा विशेषगरी खेती नहुने जमिन उपयोग गरेर सौर्य विद्युत् उत्पादन विस्तार गर्न सकिने सम्भावना देखिएको छ। यसले औद्योगिक क्षेत्रको विद्युत् आवश्यकता पूरा गर्न तथा जमिनबाट आम्दानीको अवसर बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्