नेपाल आयुर्वेद औषधी उत्पादक संघमा युवा नेतृत्व



काठमाडौँ,भदौ २२ । नेपाल आयुर्वेद औषधी उत्पादक संघको नेतृत्वमा युवा पुस्ताले बाजी मारेको छ । पाँच कार्यकाल अध्यक्षको नेतृत्व सम्हाल्दै आएका निवर्तमान अध्यक्ष विनोद पौडेलले युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरेसँगै संघको नेतृत्व युवापुस्तामा आएको हो ।

नेपाली जडिबुटीजन्य आयुर्वेद औषधीको उत्पादनमा अग्रणी भूमिका खेल्दै आएको संघले अब अध्यक्ष मानबहादुर साउदसँगै उपाध्यक्षद्वय डा. खेमराज भट्टराई र चन्द्रकान्त खनाल, महासचिवमा सुमनप्रसाद पाण्डेय, सचिवमा पिताम्बर आचार्य, कोषाध्यक्षमा महेन्द्रराज बज्राचार्य एवं सहकोषाध्यक्षमा डा. सुमन पौडेलको युवादस्ता निर्विरोधरुपमा पाएको छ । तेह्र सदस्यीय कार्यसमितिका सदस्यहरुमा शम्भु अग्रवाल, बुद्धिमान शाक्य, शिवराम थापा, सूर्यकृष्ण श्रेष्ठ, अर्जुन पौडेल र विनोद अधिकारीसमेत निर्विरोध निर्वाचित भएका छन् ।

पछिल्लो समय अर्बौँ रुपियाँको आयुर्वेद औषधी उत्पादन गर्ने हैसियत बनाउन सफल संघको नेतृत्व प्रत्येक दुई वर्षमा परिवर्तन गर्ने संघको विधानअनुसार यसपालिको नयाँ कार्यसमितिमा नयाँ र जोशिला युवाहरुको वर्चश्व कायम रहेको हो । यसअघि साउद संघको उपाध्यक्ष, पोण्डय महासचिव, खनाल सचिव र बज्राचार्य कोषाध्यक्ष थिए । उपाध्यक्ष भट्टराई र सचिव आचार्य संघको पदाधिकारीका रुपमा नयाँ अनुहार हुन् । त्यस्तै सदस्यहरुमासमेत केही नयाँ अनुहारलाई मौका दिइएको छ । अधिकांश पदाधिकारी र सदस्यहरु युवा छन् । उनीहरुमा उद्योग सञ्चालनको लामो अनुभव, जोश र जाँगरले आगामी दिन आयुर्वेद औषधी उत्पादनले थप उचाइ लिने विश्वास गरिएको छ।

निवर्तमान अध्यक्ष विनोद पौडेलले भने, ‘‘मैले दुःखले संघलाई यो ठाउँमा ल्याए । संघलाई बचाउने जिम्मेवारी अब युवाको हो। ” विसं. २०५९ सालमा स्थापना भएको संघले १९ वर्षे कार्यकालमा युवा नेतृत्व पाएको स्मरण गराउँदै संस्थापक अध्यक्ष डा. नारायणप्रसाद अर्यालले नयाँ आउने कार्यसमितिमा युवाको प्रवेश आफैँमा सन्तोषजनक भएकोले संघले अझ सशक्त भूमिका निभाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा निर्वाचत भएलगत्तै नवनिर्वाचित अध्यक्ष साउदले पछिल्लो परिवेशमा आयुर्वेद औषधी उत्पादनका क्षेत्रमा अत्याधिक चुनौती रहेको र आफूहरुले त्यो सामना गर्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्