‘वैदेशिक व्यापारलाई प्रतिस्पर्धी बनाउन प्रभावकारी एकद्वार प्रणाली’



वीरगञ्ज,भदौ २३। नेपालको वैदेशिक व्यापारलाई पारदर्शी र प्रतिस्पर्धी बनाउन भन्सार विभागले हालै कार्यान्वयनमा ल्याएको नेपाल राष्टिय एकद्वार प्रणालीलाई प्रभावकारी बनाइनुपर्ने सरोकारका पक्षले बताएका छन् ।

वैदेशिक व्यापार सहजीकरणका सम्बन्धमा वीरगञ्जमा भएको कार्यक्रममा आयातनिर्यातकर्ताले यस्तो बताएका हुन् । भन्सार विभागले वैदेशिक व्यापारसँग सरोकार राख्ने ४० भन्दा बढी निकाय तथा पक्षलाई एकद्वार प्रणालीमा समावेश गरिने बताएको छ । अनलाइनका माध्यमबाट ती निकाय र पक्षलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्य राखेको भन्सार विभागमा अधिकारीहरूले बताएका छन् ।

यस प्रणालीबाट व्यापारको लागत कम हुने अपेक्षा गरिएको छ । वैदेशिक व्यापारलाई पूर्णस्वचालित बनाएर आयातनिर्यात कोरोबारलाई पारदर्शी र प्रभावकारी बनाउन भन्सार विभागले यो प्रणाली लागू गरेको भन्सार विभागका उपमहानिर्देक श्यामप्रसाद भण्डारीले बताए ।

एकद्वार प्रणालीबाट वैदेशिक व्यापारमा पारदर्शिता र प्रभावकारिता अभिवृद्धि हुने दाबी उपमहानिर्देशक भण्डारीले गरे । ‘यो पूर्ण अनलाइनमा आधारित प्रणाली हो । यसबाट आयात निर्यातको प्रक्रिया छरितो र सहज हुन्छ,’ उपमहानिर्देशक भण्डारीले बताए ।

एकद्वार प्रणाली भन्सार जाँचपासमा सम्बद्ध सरोकारवाला सबै पक्षले प्रयोग गर्न सकिने गरी तयार पारिएको स्वचालित विद्युतीय प्लेटफर्म भएको भन्सारले बताएको छ ।

‘अन्तरराष्ट्रिय व्यापारलाई कागजी प्रक्रियामुक्त बनाउन यो प्रणालीमा सरोकारका निकाय र पक्ष समावेश गरिन्छन् । प्रणालीबाट अन्तरराष्ट्रिय व्यापार र पारवहनसँग सम्बद्ध सबै पक्षले सम्पूर्ण कागजात तथा सूचनाहरू एउटै प्रवेश बिन्दुबाट प्रस्तुत गर्न सक्छन्,’ भण्डारीले भने ।

विभागका निर्देशक सूर्यप्रसाद सेढाईंले एकद्वार प्रणालीबाट समय र खर्च दुवैको बचत हुने भएकाले व्यापार प्रतिस्पर्धी हुने स्पष्ट पारे । प्रणालीबारे व्यवासायीलाई जानकारी दिन आयोजना गरिएको कार्यक्रममा निर्देशक सेढाईंले यसबाट आयातकर्ताले आयातनिर्यातमा आवश्यक प्रक्रिया घरमै बसेर अनलाइनको माध्यमबाटै पूरा गर्न सक्ने बताए ।

कार्य सम्पादनका क्रममा सेवाप्रदायक र सेवाग्राही दुवै सन्तुष्ट नरहने अवस्थालाई निरूपण गर्न एकद्वार प्रणालीको खाँचो परेको भन्सार अधिकारीले बताए । टेबलमा आएको फाइल थन्काएर काम नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै कर्मचारीलाई जिम्मेवार र उत्तरदायी बनाउने अभिप्राय पनि प्रणालीले लिएको दाबी पनि उनीहरूको थियो ।

सेवाग्राहीले समेत यसबाट आफ्नो काम सहजतापूर्वक सम्पादन गर्ने भएकाले यसको महत्त्व र उपयोगिता बढेर गएको संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए । यसैबीच नेपाल उद्योग वाणिज्य महासंघ र भन्सार विभागको संयुक्त आयोजनामा उत्पत्तिको प्रमाणपत्रसम्बन्धी दुईदिने तालीम मंगलवार सम्पन्न भएको छ ।

उत्पत्तिको प्रमाणपत्रलाई एकद्वार प्रणालीमार्फत पेश गर्ने व्यवस्था गरेपछि यसबारे व्यवसायीलाई जानकार बनाउन तालीम आयोजना गरिएको हो । निर्यातकर्ता र जारी गर्ने संस्था उद्योग वाणिज्य संघका कर्मचारीलाई तालीम दिइएको संघले जानकारी दिएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्