बर्दियामा ६१ क्विन्टल अवैध केराउ बरामद, १ जना पक्राउ



बर्दिया,भदौ २३ । बर्दियामा अवैध रुपमा भारत निकासी हुँदै गरेको ६१ क्विन्टल केराउ प्रहरीले बरामद गरेको छ । मधुबन नगरपालिका वडा नं. ५ गाउँ नं. ११ बडगाँउ स्थित भारत तर्फ अबै रुपमा निकासी हुन लागेको ६१ क्विन्टल ३० किलोग्राम केराउ हिजो प्रहरीले बरामद गरेको हो ।

भारत तर्फ निकासी गर्ने उद्देश्यले भे.१ त.९६५५ नं.को ट्याक्टरमा लोड गरिएको ३९ क्विन्टल ३० किलोग्राम र अन्य थप थुपारि राखिएको २२ क्विन्टल गरि ६१ क्विन्टल३० किलोग्राम केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिनुभयो ।

केराउसहित ट्याक्टर चालक मधुबन नगरपालिका वडा नं.७ बस्ने वर्ष २० का राम कुमार चौधरीलाई पनि पक्राउ गरिएको उहाँले बताउनुभयो । उक्त केराउ करिब ४ लाख ३० हजार ५०० रुपैयाँको रहेको प्रहरी नायव उपरीक्षक शाहीले बताउनुभयो ।

आबश्यक कारबाहीको लागि केराउ, ट्याक्टर र ट्याक्टर चालक चौधरीलाई राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल पौडेल र ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त केराउ बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस्