जनकपुर चुरोट कारखाना : विद्युतगृह र छापाखाना पुनः सञ्चालन गर्ने तयारी



धनुषा,भदौ २४ । प्रदेश नं २ सरकारले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि)को विद्युतगृह र छापाखाना पुनः सञ्चालन गर्ने भएको छ । जचुकालि बन्द भएसँगै प्रयोगविहीन भएको विद्युत््गृह र छापाखानालाई सञ्चालनमा ल्याउन प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले पहल थालेको हो ।

प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्राविधिक, मन्त्रालयका कर्मचारीसहित केही दिनअघि विद्युत््गृह र छापाखानाको निरीक्षण गरेका थिए । निरीक्षणपछि प्राविधिकले समान्य मर्मतसम्भार गरे सञ्चालन गर्न सकिने बताएका थिए । जचुकालिको विद्युत्गृहमा पाँचओटा शक्तिशाली जेनेरेटर छन् । उक्त विद्युत्गृह प्रदेश सरकारले सञ्चालन गर्न लागेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री साहले बताए । त्यसैगरी जचुकालिको रंगीन छापाखाना लामो समयदेखि प्रयोगविहीन रहेकाले सञ्चालन गर्न दिन संघीय सरकारसँग आग्रह गरेको उनले बताए । विद्युत्गृह र छापाखाना लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघको उद्योग मन्त्रालयमा पत्राचार गरिसकेको मन्त्री साहले बताए ।

‘विद्युत्गृह र छापाखाना सञ्चालनका लागि संघीय सरकारलाई आग्रह गरेका छौं,’ मन्त्री साहले भने, ‘संघीय सरकारले सकारात्मक रूपमा लिएको छ । संघीय सरकारको मन्त्रिपरिषद् विस्तार भएपछि यो प्रक्रिया अगाडि बढ्नेछ ।’ प्रदेश सरकारको आफ्ना छापाखाना नहुँदा वर्षेनि करोडौं रुपैयाँ छपाइमा खर्च गर्दै आएको छ । आफ्नै छापाखाना भए उक्त खर्च कटौती हुने मन्त्री साहले बताए । चालू आर्थिक वर्षमा प्रदेश सरकारले छापाखानाका लागि बजेट छुट्याए पनि पहिलो प्राथमिकता जचुकालिको छापाखाना सञ्चालन गर्ने भएको उनको भनाइ छ । उनका अनुसार उक्त छापाखाना सञ्चालन गर्न नसके प्रदेश सरकारले आफ्नै नयाँ छापाखाना खरीद गर्नेछ ।     

जनकपुर उपमहानगरपालिका–९ मा जचुकालि कारखाना छ । लगभग ६ दशक पुरानो कारखाना अहिले बन्द छ । रूस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०२१ पुस २९ मा तत्कालीन राजा महेन्द्र शाहले कारखाना उद्घाटन गरेका थिए । कारखाना २०७० असार २० गतेदेखि बन्द छ । यद्यपि यहाँको उत्पादन भने २०६८ चैतदेखि नै बन्द भएको हो । सोभियत संघको अनुदान तथा तत्कालीन अर्थमन्त्रीसमेत रहेका समाजसेवी रामनारायण मिश्रको प्रयासबाट २०१७ सालदेखि जचुकालि निर्माण कार्य शुरू भएको थियो । कारखाना स्थापनाको चुक्तापूँजी ४ करोड ८ लाख ३७ हजार थियो । कारखाना निर्माणका लागि सर्वसाधारणबाट जग्गा खरिद गरिएको थियो । शुरूमा ३०० कर्मचारीलाई भर्ना गरेर चुरोट कारखाना सञ्चालन गरिएको थियो ।  उत्पादन र काम पनि राम्रो बन्दै गएपछि २०४४ सालमा सबैभन्दा बढी चार हजार ७०० कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका थिए । २०७० असार २० गते जचुकालिका कर्मचारीलाई अवकाश दिइएको थियो । तत्कालीन खिलराज रेग्मीको सरकारले कर्मचारीलाई पे–अफ गर्दै कारखाना बन्द गर्ने निर्णय गरेको थियो । कारखाना बन्द भएको बखत जचुकालिमा करिब साढे ७०० कर्मचारी कार्यरत थिए ।

कारखाना बन्दपछि जचुकालिको ३३ बिघा ९ कट्ठा क्षेत्रफलको जग्गा र भौतिक संरचना उद्योग मन्त्रालयले पछि जिल्ला प्रशासन कार्यालय धनुषाको मातहतमा सारेको थियो । तीन भागमा छुट्याइएको क्षेत्रफलमा ८ बिघामा कारखानाको भवन, २० बिघामा आवास भवन र पाँच बिघामा गोदाम छ ।

कारखानाको जनकपुरमा मात्र नभई देशभरका २६ शहरमा जग्गा र दुई ठाउँमा कार्यालय भवन निर्माण गरिएका छन् । तीमध्ये जग्गा थुप्रै विक्री भइसकेका छन् भने बाँकी पनि चौरका रूपमा प्रयोगविहीन छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्