५२ देशबाट झन्डै २ खर्ब लगानी



काठमाडौं,भदौ २५ । नेपालमा आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म वैदेशिक लगानी मौज्दात ८ दशमलव ५ प्रतिशतले बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/७७’ ले यस्तो देखाएको हो ।

उक्त आवको असार मसान्तसम्म नेपालमा रू. १ खर्ब ९८ अर्ब ५२ करोड वैदेशिक लगानी कायम भएको छ । त्यो भन्दा अघिल्लो आव २०७५/७६ मा प्रत्यक्ष वैदेशिक लगानी १ खर्ब ८२ अर्ब ९१ करोड रुपैयाँ कायम भएको थियो । त्यसभन्दा अघिल्लो आव २०७४/७५ मा वैदेशिक लगानी २ खर्बभन्दा बढी कायय भएको थियो ।

यो वैदेशिक लगानी प्रतिबद्ध गरिएको र भित्रिएको भन्दा नभएर कायम भएको वैदेशिक लगानी हो । वैदेशिक लगानी आएसँगै सम्बद्ध शेयर धनीले शेयर फिर्ता लैजाने काम पनि भइरहेको हुन्छ । साथै, सम्बद्ध शेयरधनीले लाभांश रकम नलगेर पुनः लगानी पनि गरेका हुन्छन् । ती सबैको हिसाब गर्दा २०७७ असार मसान्तसम्म त्यस बराबरको वैदेशिक लगानी कायम भएको हो ।

समीक्षा अवधिसम्म कायम वैदेशिक लगानीमा चुक्ता पूँजीको अंश ५४ दशमलव ४ प्रतिशत रहेको छ । यस्तै, लाभांशमार्फत गरिएको पुनः लगानी (रिजर्भ) को अंश भने ३३ दशमलव ८ प्रतिशत रहेको छ । यसैगरी ऋणको रूपमा ल्याइएको वैदेशिक लगानीको अंश ११ दशमलव ८ प्रतिशत रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । रकमका आधारमा चुक्ता पूँजीमा १ खर्ब ८ अर्ब ७ करोड, रिजर्भमा ६७ अर्ब ७ करोड र कर्जामा रू. २३ अर्ब ३७ करोड विदेशी लगानी कायम भएको छ ।

कुल कायम वैदेशिक लगानीमा भारतको अंश सबैभन्दा बढी रहेको छ । वैदेशिक लगानी मौज्दात भारतको अंश ३१ दशमलव ५ प्रतिशत रहेको छ । दोस्रोमा चीन रहेको छ । २०७७ असार मसान्तसम्म चीनको यस्तो अंश १५ दशमलव ६ प्रतिशत रहेको छ । तेस्रो स्थानमा रहेको सेन्ट किट्स एन्ड नेभिसको अंश ७ दशमलव ७ प्रतिशत रहेको छ । समीक्षा अवधिसम्म नेपालमा ५२ देशको वैदेशिक लगानी कायम भएको छ ।

रकमका आधारमा भारतबाट रू. ६२ अर्ब ४५ करोड, चीनबाट रू. ३० अर्ब ९७ करोड, सेन्ट किट्स एन्ड नेभिसबाट रू. १५ अर्ब २७ करोड वैदेशिक लगानी कायम भएको छ । यस्तै, आयरल्यान्डबाट रू. १२ अर्ब ९३ करोड र सिंगापुरबाट रू. १२ अर्ब ४३ करोड प्रत्यक्ष वैदेशिक लगानी आएको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले समीक्षा अवधिसम्म वैदेशिक लगानी मौज्दात सन्तोषजनक रहेको बताए । ‘आव २०७६/७७ कोरोना महामारीबाट प्रत्यक्ष रूपमा प्रभावित वर्ष हो । त्यो अवधिमा वैदेशिक लगानी मौज्दात बढेकै देखियो,’ उनले भने, ‘तर, सामान्य अवस्थाको तुलनामा भने यसलाई सन्तोषजनक रूपमा लिनु हुँदैन ।’

नेपालमा कायम प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५६ प्रतिशत औद्योगिक क्षेत्रमा रहेको छ । औद्योगिक क्षेत्रअन्तर्गत उत्पादनमा २८ दशमलव ३ प्रतिशत र जलविद्युत् क्षेत्रमा २७ दशमलव ५ प्रतिशत लगानी रहेको छ । यसैगरी सेवाक्षेत्रमा ४३ दशमलव ९ प्रतिशत लगानी कायम भएको प्रतिवेदनमा उल्लेख छ । सेवाक्षेत्रअन्तर्गत २७ दशमलव ३ प्रतिशत बैंक तथा वित्ती यसंस्था र बीमा कम्पनीमा कायम भएको छ ।

राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्थाको बारे अध्ययन गर्दै आएको छ । विशेषगरी आवश्यक नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी स्थलगत सर्वेक्षण गर्दै आएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल १९८ ओटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षण गरिएको बताइएको छ ।

घट्यो लाभांश
आव २०७६/७७ विदेशी लगानीकर्ताले लैजाने लाभांशमा कमी आएको छ । उक्त आवमा विदेशी लगानीकर्ताले औसतमा १५ दशमलव ६३ प्रतिशत लाभांश लगेका छन् । त्योभन्दा अघिल्लो आवमा १६ दशमलव  शून्य ८ प्रतिशत लाभांश लगेका थिए ।

रकमका आधारमा समीक्षा आवमा ३४७ दशमलव ७३ विलियन लाभांश लगेको देखिन्छ । अघिल्लो आवमा १८१ दशमलव ५८ विलियन लाभांश लगेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्