अतिप्रभावित क्षेत्रले लिएको कर्जा भुक्तानीको म्याद बढ्यो



आयात कर्जा ९० दिनका लागि मात्रै

काठमाडौं,भदौ २५ । होटल तथा पर्यटन क्षेत्रले लिएको कर्जा भुक्तानी २ वर्षसम्ममा चार किस्तामा तिरे हुने भएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई बिहीवार जारी गरेको निर्देशनमा कोभिड–१९ बाट अतिप्रभावित पर्यटन क्षेत्रलाई साँवा तथा ब्याज दायित्व २ वर्षसम्म चार किस्तामा तिरे पुग्ने व्यवस्था गरेको हो ।

अतिप्रभावितलाई २०७९ सालसम्ममा भुक्तानी गर्नुपर्ने कर्जाको दायित्व २ वर्षसम्ममा चार किस्तामा असुल गर्नेगरी छुट्टै हिसाब मिलाउन निर्देशन दिइएको छ ।

‘होटल, ट्राभल, ट्रेकिङ र हवाई सेवाजस्ता बाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीलाई परेको कोभिड–१९ को असर मूल्यांकन गरी २०७९ असार मसान्तसम्ममा भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई छुट्टै हिसाब राख्ने,’ निर्देशनमा भनिएको छ, ‘२ वर्षसम्ममा कम्तीमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।’ राष्ट्र बैंकले ब्याजलाई पूँजीकरण गर्न नपाइने र थप हर्जना नलाग्ने व्यवस्था मिलाउनुपर्ने निर्देशन जारी गरेको छ । यस्तै, ट्रस्ट रिसिप्ट कर्जा (टीआर लोन)को सीमा ९० दिनमा झारिएको छ । परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाले दिने टीआर प्रकृतिको कर्जाको सीमा ९० दिनमा झारिएको हो । यसअघि सो कर्जाको सीमा १८० दिन थियो ।

‘ट्रस्ट रिसिप्ट कर्जा, बिल्स डिस्काउन्टिङ वा त्यस्तै प्रकृतिका आयात कर्जा प्रदान गर्दा अधिकतम ९० दिनसम्मका लागि मात्र प्रवाह गर्न पाइनेछ,’ राष्ट्र बैंकले भनेको छ । विदेशबाट सामान आयात गर्न व्यवसायीले टीआर कर्जा लिने गर्छन् ।

‘क्रिप्टोकरेन्सीको कारोबार गैरकानूनी’
केन्द्रीय  बैंकले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग तथा माइनिङ गैरकानूनी रहेको स्पष्ट गरेको छ । बिहीवार सूचना जारी गर्दै बैंकले क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग तथा माइनिङ नगर्न तथा नगराउन भनेको छ ।

साथै क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग तथा माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने/गराउने गरेको पाइएको भन्दै राष्ट्र बैंकले त्यस्तो कारोबारबाट सर्वसाधारण ठगिएको तथा ठगिन सक्ने देखिएको ठहर गरेको छ । त्यस्तो कार्य गराएको पाइए प्रचलित कानून बमोजिम कारबाही हुने पनि राष्ट्र बैंकले बताएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्