एमसीसीका विषयमा सरकार अनिर्णीत



काठमाडौं, भदौ २५ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा सत्तारूढ गठबन्धन आबद्ध दलहरू अनिर्णीत बनेका छन् । प्रायःजसो दलपिच्छे धारणा दिँदै आएका गठबन्धन आबद्ध दलहरू सरकारको साझा धारणा के हुने भन्ने निष्कर्षमा पुग्न सकेका छैनन् ।

सो विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ बसेको गठबन्धन आबद्ध दलको बैठक बिनानिष्कर्ष टुंगियो । एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससहितको टोली बिहीबार नेपाल आएसँगै सत्तारूढ दलमाथि एमसीसीका विषयमा निर्णय गर्न दबाब बढ्दै आएको छ । सो विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसी प्रतिनिधि मण्डलको टोलीले आज भेट वार्ता गर्दै छ ।

प्रधानमन्त्री देउवाले सोही कारण एमसीसीबारे साझा धारणा बनाउन भन्दै बैठक बोलाएका थिए । तर, बैठकमा गठबन्धन आबद्ध दल जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएपछि कुनै निष्कर्ष आउन सकेन ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याएका अध्यादेश, संसद् सञ्चालनलगायतका विषयमा भने छलफल भएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । ‘एमसीसीका विषयमा कुनै कुरा भएन, सरकारले ल्याएका अध्यादेश, संसद् सञ्चालनलगायतका विषयमा छलफल भयो । यी विषयमा भने गठबन्धनमा रहेका दलका साझा धारणा बनाउने विषयमा छलफल भयो,’ गृहमन्त्री खाँणले बैठकपछि भने ।

बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइ हुँदा सरकारको आलोचना बढेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई छिटो निर्णय दिन आग्रह गरेका थिए ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्