दुप्चेश्वर गाउँपालिकाको नमूना काम, बन्यो विकट दोङ्चेमा हेलिप्याड



तस्बिर: विकट दोङ्चेमा बनेको हेली अवलोकन गर्दै गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ

नुवाकोट, भदौ २५ । पहाडी जिल्ला नुवाकोटको उत्तर-पूर्व क्षेत्रमा पर्ने दुप्चेश्वर गाउँपालिकाको दोङ्चेमा हेलिप्याड निर्माण गरिएको छ । 

सातवटा वडा रहेको दुप्चेश्वरगाउँपालिकाका सबै वडामा हेलिप्याड निर्माण गर्ने गाउँपालिकाको अवधारणा मुताविक हेलिप्याड निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए। पालिकाका धेरै जसो वडामा आकस्मिक बिरामीलाई समयमा पुराउन नसक्दा स्थानीयले अकालमा ज्यान गुमाउनु परेकाले हेलिप्याड मार्फत उद्धार गर्ने योजना अनुसार हेलिप्याडको अवधारणा अगाडि बढाइएको अध्यक्ष तामाङले बताए।

नुवाकोटका स्थानीय तहमध्ये दुप्चेश्वरको ‘एक वार्ड, एक हेलीप्याड’ निर्माण अभियान अनुसार कार्ययोजना अगाडि बढाइएको हो। जस अनुसार वडा नम्बर १,२ र ३ नम्बर वडामा हेलिप्याड निर्माण सम्पन्न भैसकेको छ ।स्थानीय तहका सेनासँगको सहकार्यमा दोङ्चेमा हालै हेलीप्याड निर्माण सम्पन्न भएको हो ।

दुप्चेश्वर भौगोलिकरुपमा विकट गाउँपालिका हो । काठमाडौंदेखि शिवपुरी, लिखु, तादी गाउँपालिकाहुँदै दुप्चेश्वर पुग्न सकिन्छ। यद्यपि कतिपय वडाहरुमा अझै पनि सडक सञ्जालको पहुँच पुगेपनि आकस्मिक घटनामा उद्धारमा कठिनाइ हुने सरोकारवालाहरु बताउँछन् ।

सडक संजालले छोएका गाउँहरुमा समेत भरपर्दो रुपमा नियमित रुपमा यातायातका साधनहरु संचालन हुन नसकिरहेको अवस्थामा हेलीप्याड निर्माण भएपछि विपद् व्यवस्थापन र आपतकालिन उद्धारमा सहयोग मिल्ने गाउँपालिकाका अध्यक्ष तामाङ बताउँछन् । 

हेलीप्याड निर्माणका लागि दुप्चेश्वरका स्थानीयवासीहरुले केहि स्थानमा निःशुल्क रुपमा जग्गा समेत उपलब्ध गराएका छन् । गाउँपालिकाका प्रमुख तामाङका अनुसार गाउँपालिकाका वडा नं १ को दोङ्चे, २ नम्बर वडा र ३ नम्बर वडामा हेलिप्याड निर्माण गरिएको छ। हेली निर्माण गर्दै विपद् व्यवस्थापन र आपतकालीन उद्धारको कामलाई ब्यवस्थित बनाउने गाउँपालिकाको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्