साताको बजार : कुल बजार पूँजीकरण ६४ अर्बभन्दा बढीले घट्यो, ४२ अर्ब ७६ करोडको शेयर कारोबार



काठमाडौं,भदौ २७ । यो साता दोस्रो बजारमा कारोबारमा आएका धितोपत्रको मूल्य गत साताभन्दा रू. ६४ अर्ब ६५ करोड ५० लाख ६१ हजारले घटेको छ । 

गत साता रू. ४० खर्ब ८९ अर्ब ५८ करोड ९० लाख ४७ हजार रहेको कुल बजार पूँजीकरण यो साता रू. ४० खर्ब २४ अर्ब ९३ करोड ३० लाख ८६ हजारमा झरेको हो । यो साता नेप्से परिसूचक पनि गत साताभन्दा ५० दशमलव ९२ अंक तल झरेको छ । गत साता २ हजार ९२६ दशमलव ८९ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ८७५ दशमलव ९७ विन्दुमा झरेको हो । 

साताको पहिलो कारोबार दिन १०८ दशमलव २६ अंकले घटेको नेप्से परिसूचक दोस्रो दिन धितोपत्र दोस्रो बजारको इतिहासमै सर्वाधिक १६१ दशमलव ९४ अंकले बढेको थियो । त्यस्तै तेस्रो दिन ४४ दशमलव १८ अंक घटेको नेप्से परिसूचक चौथो दिन ६० दशमलव शून्य २ अंक र पाँचौ दिन शून्य दशमलव ६४ अंक घटेको थियो । साताको पाँच कारोबार दिनमा यो साता चार कारोबार दिन बजार घटेको हो । 

अन्तिम दिन स्थिर रहेको बजार आगामी दिनमा सुधार हुनसक्ने अनुमान जानकारहरुको छ । परिसूचक निरन्तर घटिरहे पनि सस्तोमा शेयर विक्री गर्न लगानीकर्ताहरु नचाहनुले आगामी दिनमा खरीद चाप बढ्ने अनुमान जानकारहरुले गरेका हुन् । पछिल्लो समय मार्जिन कर्जाको सीमाका कारण प्रभावित बनेको बजार धेरै समय प्रभावित नबन्ने अनुमान जानकारहरुले लगाएका हुन् । 

यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स ६ दशमलव ४८ अंकले घटेको छ । गत साता ५४१ दशमलव ७७ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५३५ दशमलव २९ विन्दुमा झरेको हो । यो साता पाँच कारोबार दिनमा गत साता चार कारोबार दिनको भन्दा कम रकमको कारोबार भएको छ ।

गत साता चार कारोबार दिनमा रू. ४७ अर्ब ७६ करोड ८७ लाख ११ हजार बराबरको शेयर कारोबार भएकोमा यो साता रू. ४२ अर्ब २५ करोड ९८ लाख १९ हजार बराबरको कारोबार भएको हो । गत साताभन्दा यो साता कारोबार रकम रू. ५ अर्ब ५० करोड ८८ लाख ९१ हजारले कम भएको हो ।

गत साताभन्दा यो साता ३४ लाख १७ हजार १४४ कित्ता बढी शेयर कारोबार भएको छ । गत साता ८ करोड ३२ लाख ९० हजार ८६४ कित्ता शेयर कारोबार भएकोमा यो साता ८ करोड ६७ लाख ८ हजार ८ कित्ता शेयर कारोबार भएको हो । 

कुल बजार पूँजीकरणमा नबिल बैंककै बर्चश्व 
पछिल्लो समय कुल बजार पूँजीकरणमा पहिलो स्थान आगट्दै आएको नबिल बैंकले यो साता पनि सो स्थान कायम गरेको छ । नबिल बैंकले नेपाल दूरसञ्चार कम्पनीलाई कुल बजार पूँजीकरणमा पछि पार्दै पहिलो स्थान ओगटेको हो । 

धितोपत्र दोस्रो बजारमा १५ करोड शेयर सूचीकृत रहेको नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य हाल प्रतिकित्ता रू. १ हजार १२१ रहेको छ । गत साताभन्दा यो साता नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७ ले बढेको हो । 

गत साता रू. १ हजार ११४ रहेको थियो । साताको अन्तिम कारोबार दिन नेपाल दूरसञ्चार कम्पनीको कुल बजार पूँजीकरण रू. १ खर्ब ६८ अर्ब १५ करोड कायम भएको छ । 

नबिल बैंकको कुल बजार पूँजीकरण भने रू. १ खर्ब ९५ अर्ब २० करोड ६७ लाख ६१ हजार कायम भएको छ । नबिल बैंकको दोस्रो बजारमा १३ करोड ८४ लाख ४४ हजार ५१२ कित्ता शेयर सूचीकृत रहेको छ । साताको अन्तिम कारोबार दिन नबिल बैंकको अन्तिम शेयरमूल्य रू. १ हजार ४१० कायम भएको छ । गत साताको भन्दा यो साता नबिल बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ८ ले घटेको हो । गत साताको अन्तिम कारोबार दिन नबिल बैंकको अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४१८ रहेको थियो ।

यो साता व्यापारिक समूहको परिसूचक सर्वाधिक घट्यो 
यो साता १३ समूहगत परिसूचकहरुमध्ये व्यापारिक समूहको परिसूचक सर्वाधिक ६ दशमलव १२ प्रतिशत घटेको छ । गत साता ३ हजार ५७७ दशमलव ८८ विन्दुमा रहेको व्यापारिक समूहको परिसूचक यो साता ३ हजार ३५८ दशमलव ८० विन्दुमा झरेको हो । 

गत साताको तुलनामा यो साता जलविद्युतको शून्य दशमलव ७३ प्रतिशत र अन्य समूहको शून्य दशमलव शून्य पाँच प्रतिशत परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । 

यो साता बैंकिङको १ दशमलव ६२ प्रतिशत, होटल्स तथा पर्यटनको ३ दशमलव ५४ प्रतिशत, विकास बैंकको २ दशमलव ५० प्रतिशत, वित्तको ५ दशमलव ५६ प्रतिशत, निर्जीवन बीमाको ३ दशमलव ७१ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ६१ प्रतिशत, लघुवित्तको २ दशमलव ७४ प्रतिशत, जीवन बीमाको २ दशमलव २१ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव ८५ प्रतिशत र लगानी समूहको १ दशमलव शून्य ४ प्रतिशत परिसूचक घटेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्