श्रम बजार सूचना प्रणाली सम्बन्धी कार्यशाला आयोजना



काठमाडौं,भदौ २७। नेपालको श्रम बजारको आवश्यकता श्रमिक आपूर्तिको अवस्थाका विषयमा श्रम बजार सूचना प्रणाली सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । निजीक्षेत्रका पाँचओटा छाता संगठनको सहभागितमा सञ्चालन भइरहेको इम्प्लोएर्स लेड लेबर मार्केट सचिवालय (ईएलएमएस) परियोजनाले शुक्रवार कार्यशाला आयोजना गरेको हो ।

श्रम बजार सूचना प्रणालीलाई संस्थागत गर्ने र श्रम बजारको सूचना संकलन गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको छ । यस कार्यक्रमले नेपालको श्रम बजारमा उपलब्ध श्रमिकको अवस्थाबारे जानकारी दिने बताइएको छ । कार्यशालामा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले रोजगारीका अवसर खोजिरहेका व्यक्तिहरू र रोजगारदाताको सम्बन्ध स्थापित गर्न यो कार्यक्रमले महत्त्वपूर्ण टेवा पुग्ने बताए । निजीक्षेत्रका पाँचओटा संस्थाको सहकार्यमा अघि बढेको यो कार्यक्रम भविष्यका लागि समेत उदाहरण हुने उनको भनाइ छ ।

कार्यक्रममा होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणा, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष सुकुन्तलाल हिराचनले नेपाली श्रम बजारको आवश्यकता र श्रम शक्तिको आपूर्तिको जानकारी दिन यसले सहयोग गर्ने बताए । नेपालमा दीर्घकालीन रूपमा बेरोजगारीको समस्या समाधानका लागि यस कार्यक्रमले सहयोग पुग्ने अपेक्षा उनीहरूको छ । परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालमा प्रतिस्पर्धी र सीपयुक्त जनशक्तिको ठूलो अभाव रहेको उल्लेख गर्दै संस्थागत रूपमा क्षमता विकासमा काम गर्नुपर्ने बताए । यस परियोजना अन्तर्गत निर्माण, कृषि र पर्यटन क्षेत्रसँग सम्बन्धित १०/१० ओटा पेशा छनोट गरी ती पेशासँग सम्बन्धित पेशागत मापदण्ड तयार हुने बताइएको छ । रोजगारदाता र दक्ष कामदारको प्रत्यक्ष संलग्नतामा पेशागत मापदण्ड तयार गरी त्यसलाई भविष्यमा बजारको मागअनुरूपका पाठ्यक्रम निर्माणका लागि सहयोगी बनाउने परियोजनाको उद्देश्य छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्