एमसीसी सम्झौता संशोधन हुनुपर्ने एमालेको निष्कर्ष



काठमाडौं, भदौ २७ । नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना संशोधन हुनुपर्ने निष्कर्ष निकालेको छ ।

तत्कालीन नेकपाको कार्यदलले दिएको ‘संशोधनसहित एमसीसीलाई अगाडि बढाउने’ सुझावमा एमाले कायम रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

स्थायी समिति बैठक बसेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले एमसीसी सम्झौता हुँदै हुन्न भन्ने पक्षमा एमाले नरहेको बताए ।

‘एमसीसीलाई रिजेक्ट गर्ने एमसीसी हुँदै हुँदैन भन्ने हाम्रो डिस्कोर्स होइन । एमसीसीमा भएका कतिपय व्याख्याहरुलाई पुनर्व्याख्या गर्नुपर्नेछ छ । अझै बढी राष्ट्रिय हित अनुकूल बनाउनुपर्ने छ । यी सबै कुरामा आवश्यक संशोधन गरेर एमसीसी अगाडि बढाउने भन्ने त्यो बेला (तत्कालीन नेकपाको तीन सदस्यीय कार्यदल)को निर्णय हो । अहिले पनि हाम्रो पार्टी त्यो निर्णयमा कायम छ,’ उनले भने ।

एमसीसीको बारेमा संसदीय दलमा व्यापक छलफल भएको बताउँदै भट्टराईले एमसीसी अघि बढाउने नबढाउने सरकारको हातमा रहेको बताए । ‘सत्तारुढ गठबन्धनले पहिलो त एमसीसीलाई संसदमा टेबुल गर्नु हुन्छ कि गर्नुहुन्न त्यो हेर्दैछौं । कस्तो अवस्थामा गर्नुहुन्छ? जस्ताको तस्तै हो कि संशोधन गर्नुहुन्छ कि? के गर्नुहुन्छ त्यो कुरा त क्लियर छैन अहिले । त्यसो हुँदा अहिले नै हामीले बोल्नु हतार हुन्छ,’ उनले भने, ‘तर हाम्रो कुरा के छ भने तत्कालीन नेकपा कार्यदलको ‘केही संशोधनसहित एमसीसीलाई अगाडि बढाउने’ सुझावमा कायम छौं । तर त्यो निर्णयमा पुग्नुअघि सरकारको सत्ताधारी दलको पोजिसन के हुन्छ त्यो हामी हेर्दैछौं ।’

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्