ओखलढुंगामा जिप दुर्घटना: एकको मृत्यु, ४ जना घाइते



काठमाडौँ,भदौ २७ । ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–६ हिलेपानीमा आइतबार जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–२ ठूलाछापको निशंखेदेखि काठमाडौँतर्फ जाँदै गरेको बा ११ च ५२१० नम्बरको जिप सडकदेखि ५० मिटर तल खसेको थियो ।

घटनामा बाराका अन्दाजी ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो । जिपमा चालकसहित १० जना सवार थिए । त्यसमध्ये एक जनाको मृत्यु भएको र नौ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकजना नाबालक शिशुसहित चारजनाको अवस्था गम्भीर भएको जिल्ला प्रहरीका डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

घाइतेहरूलाई हाल उपचारका लागि उदयपुरको घुर्मी पुर्‍याइएको छ । गम्भीर घाइतेहरूलाई थप उपचारको लागि काठमाडौँ लैजान हेलिकप्टरको लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्