रेलवे ढुवानीमा पहिलोपटक भारतीय निजी कम्पनी



हिन्द टर्मिनलले हल्दिया बन्दरगाहबाट शुरू गर्‍यो कन्टेनर ढुवानी

वीरगञ्ज,भदौ ३० । नेपालका लागि रेलमार्फत हुने कार्गो ढुवानीमा पहिलोपटक भारतीय निजी कम्पनीले सेवा शुरू गरेको छ । हिन्द टर्मिनलले भारतको हल्दिया बन्दरगाहबाट यस्तो सेवा थालेको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले जानकारी दिएको छ ।

हिन्द टर्मिनलको रेल ९० ओटा कन्टेनर लिएर वीरगञ्ज सुक्खा बन्दरगाहका लागि हिँडेको महावाणिज्यदूत ईश्वरराज पौडेलले आर्थिक अभियानलाई बताए । सोमवार हल्दिया बन्दरगाहबाट हिँडेको रेल बुधवारसम्म वीरगञ्ज आइपुग्ने वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्याली लजिस्टिकले बताएको छ ।

नेपालमा रेलवेमार्पmत मालसामान ढुवानीमा निजी सेवाप्रदायकको प्रवेशले यस्तो ढुवानीमा एकाधिकार अन्त्य भएको उपमहावाणिज्यदूत तर्कराज भट्टले बताए । ‘रेलवे ढुवानी सेवामा निजी कम्पनी भित्रिएपछि एकाधिकारको अन्त्य भएको छ । यसले ढुवानी सेवा प्रतिस्पर्धी हुने बाटो खुलेको छ,’ उपमहावाणिज्यदूत भट्टले भने ।

नेपाल भारतबीच सन् २००४ मा भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीमा भारतीय कन्टेनर निगम (कोन्कर) लाई एकाधिकार दिएको थियो । ३ महीनाअघि मात्रै सम्झौता संशोधन भएको थियो ।

संशोधित सम्झौताले भारतका निजी रेल सेवाप्रदायक र नेपाल रेलवे कम्पनीले ढुवानी गर्न सक्ने व्यवस्था गरेको छ । त्यसअघि भारतका कोलकाता, हल्दिया र विशाखापत्तनम् बन्दरगाहबाट हुने कन्टेनर र अन्य कार्गो ढुवानीमा कोन्करको एकाधिकार थियो ।

एकाधिकारका कारण रेल भाडामा मनोमानी देखिएको भन्दै व्यवसायीहरूले रेलसेवा सम्झौता संशोधनको माग गर्दै आएका थिए । भारतमा १५ ओटा निजी कम्पनीले रेलमार्पmत ढुवानी सेवा दिइरहेका छन् । तीमध्ये कोन्करसहित अन्य चारओटा कम्पनीले नेपालतर्फको ढुवानीमा रुचि देखाएका छन् ।

रेलव सेवा सम्झौताले भारतका निजी रेल सेवा प्रदायकलाई नेपालको कार्गो ढुवानीको बाटो खोलेपछि भारतीय कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्ने देखिएको छ । यसबाट नेपालको ढुवानी प्रतिस्पर्धी हुने नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानी बताउँछन् ।

ढुवानीलाई थप प्रतिस्पर्धी बनाउन नेपालको निजीक्षेत्रलाई समेत ढुवानीमा सहभागी गराइनुपर्ने सुझाव संयोजक टेमानीको छ ।

अहिले वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालन गरिहेको प्रिस्टाइन भ्यालीको मुख्य साझेदार भारतीय कम्पनी प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले पनि केही दिनमै सेवा शुरू गर्ने भएको छ । त्यस्तै भारतमा बन्दरगाह र रेल सेवा चलाइरहेको जेएन बक्सी समूहले पनि वीरगञ्जसम्म कन्टेनर ढुवानीको तयारी थालेको अधिकारीहरूले बताएका छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्