४० वर्ष माथिका उमेर समूहलाई खोप



काठमाडौं, भदौ ३० । नेपाल सरकारले अर्को सातादेखि सुरु गर्ने खोप अभियानमा ४० वर्ष माथिका उमेर समूहलाई प्राथमिकतामा राखिने परिवार कल्याण महाशाखा तथा आपूर्ति महाशाखाले जनाएको छ। बिहीबारसम्ममा चीनबाट थप ४५ लाख डोज खोप आउने र सो उमेर समूहलाई प्राथमिकतामा राखेर अभियान सुरु गरिने महाशाखाप्रमुख उपेन्द्र ढुंगानाले बताए।

एकै पटक धेरै खोप आउने भएपछि यो उमेर समूह खोपको प्राथमिकतामा परेको महाशाखाले जनाएको छ। यसअघिको खोप अभियानमा ५० वर्ष माथिको उमेर समूह र अन्य पेसागत समूहहरू खोपको प्राथमिकतामा परेका थिए।

खोप लिनका लागि नेपाल वायु सेवा निगमको जहाज बुधबार चीन जाँदै छ। बिहीबार आइपुग्ने गरी जहाज जाने तयारी भइरहेको महाशाखाप्रमुख ढुंगानाले बताए। ४४ लाख डोज खोप दोस्रो चरणको खरिद प्रक्रियाबाट आउन लागेको र एक लाख डोज खोप भने संस्थागत सहयोगबाट आउन लागेको हो।

खोप आएको एक साताभित्रै देशभर अभियान सुरु हुने महाशाखाले जनाएको छ। यसअघि पहिलो डोज खोप १९ प्रतिशत जनसंख्याले लिइसकेका छन् भने दोस्रो डोज लिनेको संख्या १७ प्रतिशत छ। थप खोप आएपछि नेपालमा थप २२ लाख ५० हजार जनसंख्याले पहिलो र दोस्रो दुवै खोप लिनेछन्। यो पालिको खोप अभियानले बाँकी रहेका गम्भीर तथा दीर्घरोगीलाई समेत समेट्ने भएको छ।

चीनबाट एकै पटक ४५ लाख डोज आउने भए पनि भण्डारणका लागि कुनै समस्या नभएको प्रमुख ढुंगानाले बताए। महाशाखाका अनुसार यो खोपमा एउटै बट्टामा पाँच जनालाई दिन मिल्ने गरी बनेको हुनाले एकै पटक धेरै संख्यामा लिन सम्भव भएको हो।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्