पञ्चकन्याको बच्छलादेवी मन्दिरमा आज वार्षिक मेला लाग्दै, तयारी अन्तिम चरणमा
नुवाकोट, मंसिर ७ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ भद्रुटारस्थित चुहानडाँडामा रहेको बच्छलादेवी मन्दिरमा लाग्ने वार्षिक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। सोमबार साँझदेखि सुरु हुने मेलामा यस वर्ष पनि ठूलो संख्यामा भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।
मन्दिर संरक्षण समितिका अनुसार मेलालाई व्यवस्थित बनाउन मन्दिर परिसरको सरसफाइ, विद्युत् तथा प्रकाश व्यवस्थापनलगायतका काम तीव्र पारिएको छ। गाउँकी देवीका रूपमा पूजिँदै आएकी बच्छलादेवीको मन्दिरमा प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन परम्परागत रूपमा मेला लाग्दै आएको छ।
रात्रिकालीन रूपमा सञ्चालन हुने मेलामा भक्तजनले दीप प्रज्वलन गरी जाग्राम बस्ने, भजन, चुट्का तथा विभिन्न धार्मिक कार्यक्रम गर्ने परम्परा छ। यस वर्ष मेलालाई थप आकर्षक बनाउन स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको सहभागितामा विशेष प्रत्यक्ष दोहोरी कार्यक्रमसमेत आयोजना गरिने मन्दिर संरक्षण समितिका सदस्य जीवन तामाङले जानकारी दिए।
मेलामा ख्यातिप्राप्त कलाकारले रातभर सांगीतिक प्रस्तुति दिनेछन् भने झाँक्री नाच, लोक खैँजडी भजनलगायत सांस्कृतिक कार्यक्रमले थप आकर्षण थप्ने आयोजकले जनाएको छ।
औपचारिक कार्यक्रमका प्रमुख अतिथि पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ रहनेछन्। मेलामा पञ्चकन्या, महाकाली, थानापति, कविलास तथा काठमाडौंबाट समेत भक्तजन आउने अपेक्षा गरिएको छ। भक्तजनको सम्भावित भीडलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थासमेत मजबुत बनाइएको मन्दिर संरक्षण समितिले जनाएको छ।

