क्षेत्रपाल मावि बन्यो लिखु गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको विजेता



नुवाकोट,मंसिर ७ । लिखु गाउँपालिका स्तरीय नवौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ आइतबार सम्पन्न भएको छ। शुक्रबारदेखि सञ्चालन भएको प्रतियोगितामा क्षेत्रपाल माध्यमिक विद्यालय प्रथम हुँदै उपाधि जित्न सफल भएको छ।

प्रतियोगितामा क्षेत्रपाल माविले १७ स्वर्ण र ७ रजत गरी कुल २४ पदक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो। त्यसैगरी नारायणदेवी माध्यमिक विद्यालयले १० स्वर्ण, ७ रजत र ३ कास्य गरी कुल २० पदकसहित दोस्रो स्थान हासिल गरेको छ। महेन्द्र महेशदेव माध्यमिक विद्यालयले २ स्वर्ण, ६ रजत र ७ कास्य गरी कुल १५ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ।

प्रतियोगितामा प्रथम भएको क्षेत्रपाल माविले नगद १५ हजार रुपैयाँ, पदक र ट्रफी प्राप्त गरेको छ। दोस्रो भएको नारायणदेवी माविले १२ हजार रुपैयाँ तथा तेस्रो भएको महेन्द्र महेशदेव माविले ९ हजार रुपैयाँसहित पदक र ट्रफी प्राप्त गरेका छन्। साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई समेत ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ।

लिखु गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न प्रतियोगिता सफल बनाउन गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्रधानाध्यापक, खेल शिक्षक, शिक्षक, खेलाडी, निर्णायक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलगायतले सहयोग गरेका थिए।

त्यस्तै, खेलाडीलाई पौष्टिक आहारका रूपमा अण्डा उपलब्ध गराउने काठमाडौं पोल्ट्री प्रालि, खाना व्यवस्थापनमा खटिएको टोली तथा प्राविधिक सहयोग गर्ने व्यक्तिहरूलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्