कोन्करले विशखापत्तनम् बन्दरगाहबाट पनि घटायो रेल भाडा



वीरगञ्ज,असोज १ । नेपालको समुद्रपार व्यापारमा कन्टेनर ढुवानी गर्दै आएको भारतीय कन्टेनर निगम (कोन्कर)ले भारतको विशाखापत्तनम् बन्दरगाहबाट पनि ढुवानी भाडा घटाएको छ ।

भारतको विशखापत्तनम्, कोलकाता र हल्दिया बन्दरगाहबाट वीरगञ्ज सुक्खा बन्दरगाहसम्म रेलबाट कन्टेनर ढुवानीमा प्रतिस्पर्धी कम्पनीको प्रवेशलगत्तै कोन्करले भाडा घटाएको हो ।

कोन्करले विशाखापत्तनम्बाट वीरगञ्जसम्मको प्रतिकन्टेनर ढुवानी भाडा भारतीय रुपया (भारू) १५ हजारदेखि २६ हजारसम्म घटाएको सूचना निकालेको छ । यसअघि कोलकाता र हल्दियाबाट ढुवानी भाडा घटाएको थियो ।

अब विशाखापत्तम्बाट २० फीटको कन्टेनरमा ३१ मेट्रिकटनसम्म मालसामान वीरगञ्ज ल्याउन भारू ५५ हजार तिरे पुग्छ । त्यस्तै ४० फीटको कन्टेनरमा ४० मेट्रिकटनसम्मको भाडा ७७ हजार तोकिएको छ । २ दिनअघिसम्म यो भाडा क्रमशः ७५ हजार ९०० र १ लाख २ हजार १०० थियो ।

यसअघि ढुवानीमा एकाधिकार जमाएको कोन्करको प्रतिस्पर्धामा निजी भारतीय कम्पनी आएपछि भाडा घटाएको हो । बुधवार हिन्द टर्मिनलको रेल भारतको हल्दिया बन्दरगाहबाट कन्टेनर लिएर वीरगञ्ज सुक्खा बन्दरगाहमा आइपुगेकै दिन कोन्करले भाडा पुनरवलोनको सूचना निकालेको थियो ।

कोन्करले नयाँ भाडादर आगामी मार्च अन्तिमसम्म लागू हुने बताएको छ । तेस्रो मुलुकबाट भारतीय बन्दरगाहमा आएका कन्टेनर ढुवानीमा कोन्करसहित ४ कम्पनी प्रतिस्पर्धामा आएका छन् । ढुवानीमा प्रतिस्पर्धा सकारात्मक भए पनि यसबाट नेपालको ढुवानीको लागत कम हुने कि नहुने भन्नेमा व्यवसायी अन्योलमा छन् । नेपाली आयातकर्ताले अहिले कोन्करसँग सिधा सम्पर्क गर्दैनन् । वीरगञ्जसम्मकै ढुवानीको जिम्मा सिपिङ कम्पनीले लिने भएकाले यो अन्योल देखिएको हो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का यातायात तथा पारवहन समिति संयोजक अशोककुमार टेमानी कोन्करले भाडा घटाए पनि त्यसको लाभ सिपिङ कम्पनीमार्फत लिनुपर्ने बताउँछन् । ‘कोन्करले भाडा घटाएको सूचना त गरेको छ । तर, सिपिङ कम्पनीले कस्तो भाडा दर दिने हुन्, त्यो अहिलेसम्म स्पष्ट छैन,’ टेमानीले भने, ‘यसैले भाडा दर कटौतीको लाभ नेपाली आयातले कसरी पाउँछन्, अहिल्यै भन्न सकिने अवस्था पनि छैन ।’ आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्