काठमाडौं उपत्यकाका ४०.३३% ले लगाए पूर्ण खोप



काठमाडौं,असोज २ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४ दशमलव ३३ प्रतिशत र पूर्ण मात्राको खोप ४० प्रतिशतले लगाएका छन् । 

काठमाडौं उपत्यकामा १५ लाख ५५ हजार ८९५ जनाले पहिलो मात्रा र ११ लाख ७१ हजार चार सय २० पूर्ण मात्राको खोप लगाइसकेका छन् । मुलुकभरि पहिलो मात्रा १९ दशमलव ९ र पूर्ण मात्रा १८ प्रतिशतले खोप लगाइसकेका छन् । 

स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले कोभिड–१९ विरुद्धको खोप काठमाडौं जिल्लामा पहिलो मात्रा ५० र पूर्ण मात्रा ४१ प्रतिशत जनसंख्याले लगाइसकेको जानकारी दिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तीमा ६० प्रतिशत जनसंख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जानकारी दिइएको छ । काठमाडौंमा ११ लाख ३७ हजार १६८ पहिलो मात्रा र नौ लाख ३३ हजार तीन सय ६१ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् । 

यस्तै उनले भक्तपुरमा पहिलो र पूर्ण मात्रा खोप ४१ प्रतिशत जनसंख्या तथा ललितपुरमा पहिलो मात्रा ४५ प्रतिशत र पूर्ण मात्रा ३८ प्रतिशत जनसंख्याले लगाइसकेका बताए ।

भक्तपुरमा एक लाख ५४ हजार आठ सय ३५ जनाले पहिलो मात्रा र एक लाख ५६ हजार ८८२ जनाले पूर्ण मात्राले खोप लगाइसकेका छन् । ललितपुर दुई लाख ६३ हजार ८९२ जनाले पहिलो मात्रा र दुई लाख २२ हजार ३७१ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् । 

मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसविरुद्धको पहिलो मात्रा ६० लाख ५७ हजार १९४ र पूर्ण मात्रा ५४ लाख ७३ हजार १५१ जनाले लगाएका छन् । 

महाशाखका निर्देशक डा लालले उपत्यकाका विशेष क्षेत्रमा काम गर्ने सबैजसोलाई खोप लगाइसकेको जानकारी दिए । पछिल्लो पटक शिक्षक र विद्यार्थीलाई पनि खोप लगाइसकिएको छ । 

नेपाल सरकारले गत माघ १४ गतेदेखि खोप लगाउन शुरु गरेयता सात महीनामा यही भदौ १६ गते नै एक करोड ९२ हजार १६४ जना सर्वसाधारणले खोप लगाएका थिए । 

सुरुमा ६५ वर्षभन्दा माथिका र स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सरसफाइकर्मी, कोभिड–१९ विरुद्धको रोकथाम र नियन्त्रणमा अग्रपङ्क्तिमा रहेका काम गर्ने व्यक्तिबाट शुरु गरिएको खोप अहिले ५० वर्षमाथिका प्रायः सबैलाई दिइसकेको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

देशभर कोभिसिल्ड पहिलो मात्रा २४ लाख ९३ हजार ३३३ र दोस्रो मात्रा १४ लाख ४५ हजार ३५१ जनाले लगाइसकेका छन् । यस्तै भेरोसेल पहिलो मात्रा ३५ लाख ६३ हजार ८६१ र दोस्रो मात्रा २६ लाख २७ हजार ६५५ जना तथा जोन्सन एन्ड जोन्सन १४ लाख १४५ जनाले लगाइसकेका छन् । भदौ महीनामा सबभन्दा बढी पहिलो मात्रा भदौ ३० गते दुई लाख ९९ हजार एक १३१ जनाले लगाएका थिए । 

सरकारले १८ वर्षभन्दा माथिका ७१ दशमलव ६ प्रतिशत अर्थात् कुल दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । 

सरकारले आगामी असोजसम्म लक्षित वर्गको ३३ प्रतिशत र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउनसक्ने जानकारी दिएको छ । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाइनेछ । मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा ल्याउने तयारी गरेको छ । 

मन्त्रालयका प्रवक्ता डा पौडेलले लक्षित सबै समूहलाई खोप लगाउन सरकारको योजना रहेको बताए । उनले विभिन्न चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउने अभियान सञ्चालन भइरहेको जानकारी दिए । नेपालमा अहिले कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन, एस्ट्राजेनिका खोप लगाइएको छ ।

परिवार कल्याण महाशाखा निर्देशक डा लालले अहिलेसम्म नेपालमा एक करोड ३३ लाख ५८ हजार ७१० मात्रा खोप आइसकेको जानकारी दिए । 

यस्तै आज नै चीनबाट खरीद गरिएको कोभिड–१९ विरुद्धको खोप ४४ लाख मात्रा नेपाल आउँदै छ । चीनबाट खरीद गरेको ६० लाखमध्ये १६ लाख मात्रा खोप यसअघि नै आइसकेको थियो । 

नेपाललाई शुरुमा माघ ८ गते भारतले १० लाख मात्रा कोभिसिल्ड खोप उपलब्ध गराएको थियो । त्यसपछि सरकारले आफँै १० लाख मात्रा कोभिसिल्ड उत्पादक कम्पनी सिरम इन्स्टिच्युटसँग फागनु ९ गते १० लाख मात्रा खोप खरीद गरेको थियो  ।

कुल खोप लगाउने लक्षितमध्ये २० प्रतिशत कोभ्याक्स सुविधामार्फत ल्याउने सरकारले तयारी रहेको छ । कोभ्याक्सबाट निःशुल्क रुपमा एक करोड १३ लाख मात्रा खोप प्राप्त गर्ने सरकारको योजना रहेको छ ।

सरकारले असोज मसान्तभित्र एक करोड पाँच लाख ४८ हजार मात्रा खोप र चैतसम्म तीन करोड २३ लाख मात्रा खोप ल्याइसक्ने जानकारी दिइएको छ । नेपालमा संक्रमणको दर १९ दशमलव २ प्रतिशत पुगेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्