एक वर्षमा ५४ प्रतिशतसम्म घट्यो आलुको मूल्य



काठमाडौं,असोज ३ । एक वर्षको अवधिमा आलुको मूल्य ५४ प्रतिशतसम्म घटेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीमा उल्लेख भए अनुसार गतवर्षको यसै अवधिको तुलनामा अहिले आलुको मूल्यमा उक्त कमी आएको हो ।

यस वर्ष आन्तरिकका साथै बाह्य बजारबाट पनि पर्याप्त मात्रामा आपूर्ति भइरहेकाले गतवर्षको तुलनामा आलुको मूल्य घटेको बताइएको छ । समितिको तथ्यांक अनुसार गतवर्षको यस अवधिमा भारतीय रातो आलुको मूल्य प्रतिकिलो ५९ रुपैयाँ रहेको थियो । उक्त मूल्य यस वर्ष ५४ प्रतिशतले घटेर प्रतिकिलो २७ रुपैयाँमा सीमित भएको छ । नेपाली रातो आलुको मूल्य अघिल्लो वर्षको यस अवधिमा प्रतिकिलो ९४ रुपैयाँ रहेकोमा यस वर्ष ३९ दशमलव ३६ प्रतिशतले घटेको छ । त्यसैगरी मुडेको आलुको मूल्य गतवर्ष प्रतिकिलो ८१ रुपैयाँ थियो भने हाल यो मूल्य ३९ दशमलव ५० प्रतिशतले घटेर ४९ रुपैयाँ रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले यस वर्ष आलुको आपूर्ति सहज भएको र भारतीय बजारमा समेत मूल्य घटेकाले नेपालमा पनि सस्तिएको बताए । गतवर्षको यस समयमा नेपालमा बन्दाबन्दीका कारण आपूर्ति प्रभावित हुँदा मूल्य बढेको थियो । उनका अनुसार अहिले कालीमाटी बजारमा भित्रिने कुल आलुमध्ये ७५ प्रतिशत भारतीय र २५ प्रतिशत आन्तिरिक उत्पादन रहेको छ । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रको तथ्यांक अनुसार झापा, इलाम, काभ्रे, सोलुखुम्बु, मोरङ, सप्तरी, मकवानपुर, बारा, रूपन्देही, कैलाली लगायत जिल्लाको करीब २ लाख हेक्टर क्षेत्रफल जमीनमा आलुखेती गरिन्छ । नेपालमा आर्थिक वर्ष २०७४/७५ मा १ लाख ९५ हजार १ सय ७३ हेक्टर जमीनमा आलुखेती गरिएकोमा आर्थिक वर्ष २०७५/७६ मा करीब १ लाख ९४ हजार हेक्टर जमीनमा गरिएको थियो । तर आर्थिक वर्ष २०७६/७७ मा भने आलुखेती हुने क्षेत्रफल घटेको पाइएको छ । केन्द्रको तथ्यांकले सो आवमा १ लाख ८८ हजार ९८ हेक्टरमा मात्रै आलुखेती गरिएको देखाएको छ । केन्द्रका सूचना बागवानी विकास अधिकृत सन्दीप सुवेदीका अनुसार नेपालमा आलुको कुल माग वार्षिक साढे ३२ लाख मेट्रिकटन छ, जसमध्ये करीब २८ लाख मेट्रिकटन आन्तरिक उत्पादन छ भने साढे ४ लाख मेट्रिकटन विभिन्न मुलुकबाट आयात हुने गरेको छ । स्वदेशी उत्पादन बाहेक नेपालमा वार्षिक ६ अर्ब मूल्य बराबरको आयातित आलु उपभोग हुने गरेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्