ओमानमाथि नेपालको फराकिलो जित



काठमाडौं,असोज ३। ब्याटिङ-बलिङ दुवै पक्षमा बलियो प्रदर्शन गरेको नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा ओमानलाई पराजित गरेको छ।  आइतबार नेपालसंग ओमान ७ विकेटले पराजित भएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको ओमानलाई करण केसी र सन्दीप लामिछानेको ४/४ विकेट मद्दतमा नेपालले ३७.१ ओभरमा १ सय २१ मा अल आउट गरेको थियो ।

दोस्रो इनिङमा १ सय २२ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अविजित अर्धशतक जोडे ।

वान् डाउनमा ब्याटिङ गर्न क्रिजमा उत्रिएका कप्तान ज्ञानेन्द्रले आशिफ शेखसँग ९५ रनको साझेदारी गर्दै नेपालका लागि ४७ बलमा गरेका ज्ञानेन्द्रले ४ चौका र २ छक्का प्रहार गरेका थिए ।

नेपालका ओपनर कुशल भुर्तेल ६ रनमा पेभेलियन फर्किँदा आशिफले ४४ बलमा ७ चौकासहित ४० रन जोडे । त्यस्तै, रोहित पौडेल ६ रन बनाएर आउट हुँदा शरद भेसावकर १ रनमा अविजित रहे ।

ओमानका लागि नेस्तोर धाम्बाले २ तथा कलिमुल्लाहले १ विकेट लिए । सशक्त बलिङ गरेको नेपालसामु घुँडा टेकेको ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । नेपालका लागि सन्दीप र करणले ४/४ तथा शरदले २ विकेट लिएका थिए ।

शृंखलाको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपालले त्यसपछि लगातार दुई खेलमा पराजय बेहोरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेट र दोस्रो खेलमा अमेरिकासँग ६ विकेटले पराजित नेपालको यो शृंखलामा यो अन्तिम खेल हो ।

नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षको पदबाट राजीनामा दिइसकेका डेभ वाटमोरको नेतृत्वमा नेपालले खेलेको यो अन्तिम खेल हो ।

लिग-२ को अंक तालिकामा नेपाल ८ खेलबाट ८ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ। नेपालले ८ मध्ये ४ खेलबाट जित र ४ खेलमा हार बेहोरेको छ।

ओमान १३ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको अमेरिकाको १५ खेलबाट १४ अंक छ।

प्रतिक्रिया दिनुहोस्