२० ओटा कम्पनीद्वारा ५ अर्ब ९० करोड बराबरको आईपीओ निष्कासन गर्ने तयारी, कुन कम्पनीको कति ?



काठमाडौं,असोज ४ । २० ओटा कम्पनीले कुल रू. ५ अर्ब ९० करोड ७७ लाख ५५ हजार ८०० बराबरको ५ करोड २३ लाख ५७ हजार ५५८ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् । 

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएसँगै ती कम्पनीहरुले आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् । २० ओटा कम्पनीमध्ये सबैभन्दा बढी ग्रीन भेञ्चर लिमिटेडले ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नको लागि निवेदन दिएको हो । विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

त्यसैगरी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता रू. १०० थप ११२ प्रिमियम थप गरी रू. २१२ मा आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । 

२० ओटा कम्पनीमध्ये ४ ओटा लघुवित्त वित्तीय संस्था, २ ओटा इन्स्योरेन्स कम्पनी, १२ हाइड्रोपावर कम्पनी र दुई अन्य समूहका इमर्जिङ नेपाल र डिस मिडिया नेटवर्क रहेका छन् । यी २० ओटै कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि मात्र आईपीओ निष्कासन गर्नेछन् । 

पछिल्लो समयमा आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । छोटो समयमानै शेयर सूचीकृत भई दोस्रो बजारमा शेयर कारोबार शुरु भएकाले थारै लगानीबाट आकर्षक प्रतिफल प्राप्त हुनाले पनि यसप्रति लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । पछिल्लो उदाहरणको रुपमा जीवन विकास लघुवित्तलाई लिन सकिन्छ । कम्पनीको आईपीओमा लगानीकर्ताले रू. १ हजार लगानी गर्दा एक महीनामा रू. ५५ हजारसम्म नाफा कमाएका थिए । 

यसले गर्दा आईपीओ भर्नका लागि पनि लगानीकर्ताले डिम्याट खाता खोलेको पाइन्छ । यसोत शेयर बजारबारे धेरै प्रचार प्रसार बढी भएकाले पनि डिम्याट खाता खोल्नेको संख्या बढेको हो । प्रविधिको विकास विस्तारले सबै कार्य अनलाइनमार्फत गर्न सकिने भएकाले पनि सहज भएकोे हो । 

आज अर्थात् असोज ३ गतेसम्म डिम्याट खाताको संख्या ४३ लाख ७४ हजार ३४ पुगेको छ । पछिल्लो समय नेपालको पूँजीबजारको इतिहासमै सबैभन्दा ठूलो आईपीओे नेपाल इन्फ्रास्टक्चर बैंकले निष्कासन गरेसँगै डिम्याट खाता संख्या ह्वात्तै बढेको हो  ।

आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्