जापानको वृद्ध जनसंख्या बढेर नयाँ उचाइमा



टोकियो,असोज ४ । जापानमा ६५ वर्ष वा सोभन्दा बढी उमेरको जनसंख्या बढेर नयाँ उचाइमा पुगेको छ । 

आन्तरिक मामिला मन्त्रालयले बुधवार सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।समग्र जनसंख्यामा वृद्ध जनसंख्याको अनुपात पनि बढेर कीर्तिमानी उचाइमा उक्लिएको छ ।

यस वर्ष वृद्ध जनसंख्या ३ करोड ६४ लाख रहेको छ । यो गत वर्षको तुलनामा २ लाख २० हजार धेरै भएको बताइएको छ । त्यस्तैगरी, समग्र जनसंख्यामा वृद्ध जनसंख्याको अनुपात पनि २९ दशमलव १ प्रतिशत रहेको छ । यो गत वर्षको तुलनामा शून्य दशमलव ३ प्रतिशत धेरै हो । वृद्ध जनसंख्याको यो अनुपात विश्वमै सबैभन्दा धेरै हो ।

कुल वृद्ध जनसंख्यामा १ करोड ५८ लाख ३० हजार पुरुष र २ करोड ५ लाख ७० हजार महिला रहेका छन् । 
जापानमा गत वर्ष वृद्ध कामदारको संख्या पनि लगातार १७ वर्ष बढेर ९० लाख ६ हजारमा पुगेको मन्त्रालयले बताएको छ । जापानको कुल जनसंख्या गत वर्षको तुलनामा ५ लाख १० हजारले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्