शरद् ऋतुमा पर्वतारोहणका लागि २३० जनाले लिए अनुमति



काठमाडौं,असोज ४ । शरद् ऋतुमा पर्वतारोहणका लागि हालसम्म २३० जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म विभिन्न ६ ओटा हिमाल तथा शिखर आरोहणका लागि पर्वतारोहीहरूले आरोहण अनुमति पाएका हुन् ।
 
पर्यटन विभागका अनुसार यो सन् २०२० को भन्दा अत्यधिक संख्या हो । २०२० मा जम्मा ११ दलबाट ६९ जना पर्वतारोहीहरूले शरद् ऋतुका लागि अनुमति पाएका थिए । पर्वतारोहणका लागि वसन्त ऋतु चर्चित भए पनि शरद् ऋतुमा पनि पर्वतारोहणका लागि पर्यटकहरू आउने गर्छन् । सन् २०२० मा कम संख्यामा पर्वतारोही आए पनि यही सिजनका लागि २०१९ मा भने १६५ दलबाट १ हजार २१० जनाले हिमाल आरोहण गरेका थिए ।

सन् २०२१ को यो सिजनमा धवलागिरि, मनास्लु, पुथ हिमचुली, कञ्चनजंगालगायत हिमाल तथा पीक आरोहणका लागि विभागले अनुमति जारी गरिसकेको छ । यीमध्ये सबैभन्दा धेरै ८ हजार ५८६ मीटरको मनास्लु हिमाल आरोहणका लागि पर्वतारोहीले अनुमति लिएका छन् । विभागका अनुसार मनास्लु हिमाल आरोहणका लागि १७ दलका १३३ जनाले अनुमति पाएका छन् । ८ हजार १६७ मिटरको धवलागिरि हिमाल आरोहणका लागि ४ दलसहित २८ जनाले अनुमति पाएका छन् ।

विभागका अनुसार कुल पर्वतारोहीमा ५२ जना महिला छन् । ती पर्वतारोहीका लागि अनुमति जारी गर्दा विभागले यो सिजनमै रू. २ करोड ३० लाख राजस्व संकलन गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण थलिएको पर्यटन क्षेत्रका लागि पर्वतारोहणमा आउने पर्यटकका कारण थप राहत मिलेको छ । यो वर्षको ८ महीनामा कुल ६९ हजार मात्रै पर्यटक नेपालमा आएका छन् ।

यो वर्षको वसन्त ऋतुमा ६३५ जना आरोहीहरूले सगरमाथासहितका अन्य हिमाल तथा पीकहरू आरोहण गरेका थिए । तीमध्ये सबैभन्दा धेरै सगरमाथा ४५९ जनाले आरोहण गरेको विभागको तथ्यांक छ । सन् २०२० को वसन्त ऋतुमा भने आरोहण शून्य रहेको थियो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्