कोरोना महामारीसंगै खुलेका नुवाकोटका विद्यालयमा देखिएको उत्साह



तस्वीर: कुम्भेश्वर माध्यमिक विद्यालय,शिवपुरी ७ नुवाकोटका शिक्षक माधब ठकुरीको फेसबुकबाट

नुवाकोट,असोज ५ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विगत ५ महिनादेखि बन्द रहेका नुवाकोटका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमै असोज १ गतेदेखि उत्साहप्रद सञ्चालनमा आएको छ । 

जिल्लाका १२ वटै स्थानीय तहले आफ्नो सेवाक्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई बालबालिकाको भौतिक उपस्थिति मै कक्षा सञ्चालन गर्न निर्देशन दिएपछि पठनपाठन सुरु भएको हो । कोभिड–१९ महामारीका कारण गत वैशाखदेखि बन्द रहेका विद्यालयहरुले विद्यार्थीको पढाई प्रभावित नहोस भन्दै सीयुजी सिम अवधारणा अपनाउदै वैकल्पिक कक्षाहरु सञ्चालन गर्दै आएका थिए । 

अभिभावक, विद्यार्थी, विद्यालयका शिक्षक/शिक्षिका, सञ्चालक लगायतको सुझाव र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७ बमोजिम स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरेको जिल्ला स्थित विभिन्न स्थानीय तहका शिक्षा शाखाले जनाएको छ । 

शुक्रबारबाट जिल्लाको लिखु र तादी गाउँपालिकाले आफ्नो सेवाक्षेत्र भित्रका सामुदायिक तथा संस्थागत विद्यालयको शिशुदेखि १० कक्षा सम्म सञ्चालनमा ल्याएको छ । लिखु गाउँपालिकाले सेवाक्षेत्र अन्तर्गतका विद्यालयहरु गत भदौ २७ गतेबाट विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्दै आएको छ ।

पञ्चकन्या गाउँपालिकाले भदौ २५ गतेबाट कक्षा ८, ९ र १० र असोज १ गतेबाट शिशुदेखि १० कक्षासम्म कक्षा संचालन गरेको जनाएको छ । विद्यालय खुला गर्ने सन्दर्भमा गाउँपालिकाले निर्णय गर्नुअघि नै शिक्षक, अभिभावक, विभिन्न शिक्षक संघ र विद्यार्थी प्रतिनिधिहरुसँग छलफल गरेर कक्षा सञ्चालन थालेको पञ्चकन्या गाउँपालिकाले जनाएको छ । विद्यार्थीको प्रत्यक्ष उपस्थितिमा स्वास्थ्य सम्बन्धी मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरी विद्यालय सञ्चालनमा ल्याएको शिक्षा शाखाले जनाएको छ । 

कोभिड–१९ संक्रमितको संख्या बढ्न गएमा कुनै विद्यालय, क्षेत्र, वडा वा गाउँपालिका भरी सूचना जारीगरी कुनैपनि समयमा विद्यालय विद्यार्थीहरुको भौतिक उपस्थितिका रुपमा सञ्चालन गर्न बन्द गरिने समेत सम्बन्धित गाउँपालिकाहरुले जनाएको छ ।शिवपुरी गाउँपालिकाका विद्यालयका प्रधानाध्यापकहरुले भने गाउँपालिकाले निर्णय गर्नुभन्दा अघिदेखि नै अभिभावकलाई बोलाएर बालबालिकालाई वर्क सीड पठाउने, भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने तयारी गरेको बताएका छन् । 

विद्यालयले विद्यार्थी कक्षा प्रवेश गर्नुअघि ज्वरो नाप्ने, स्यानिटाइजर प्रयोग गर्न लगाउने र मास्कलाई अनिवार्य गराएको तयारी गरिएको सम्बन्धित गाउँपालिकाहरुले जनाएको छ । तर यथाशक्य प्रयासमा पनि बालबालिकालाई मास्क तथा भौतिक दुरी अवलम्बन भने गर्न असहज भएको शिक्षकहरुले बताउदै आएका छन् ।

विद्यालय दिवा खाजा तयार गर्दै लिखु गाउँपालिका वडा नम्बर ६ भट्टथोकमा अवस्थित सिद्धीगणेश विद्यालयका भान्से

प्रतिक्रिया दिनुहोस्