नुवाकोट शिवपुरीको रंगशाला हरियालीमा परिणत हुँदै



नुवाकोट, असोज ८। जिल्लाको शिवपुरी गाउँपालिकामा रहेको रंगशालामा हरियो दुबो मौलाउने क्रममा रहेको छ। गाउँपालिकाले २ लाख बराबर रकम खर्चिएर गत असारमा दुबो लगाएको थियो। ठाउँठाउँमा रहेको दुबो ल्याएर गाउँपालिकाले रंगशालाको चौरमा दुबो लगाएको हो। यसअघि चाइनिज दुबो परिक्षणका रुपमा लगाइए पनि राम्रोसँग फस्टाउन नसकेकाले स्थानीय स्तरकै दुबो लगाइएको गाउँपालिकाका बगैचे गोपाल पाण्डेले बताए। ‘हामीले चाइनिज दुबो लगाउने परिकल्पना गरेका थियौ तर कालोमाटो तथा खरानीयुक्त धुलो माटोको अभावमा स्थानीय दुबो लगाएका हौं’-बगैंचे पाण्डेले भने।

फुङ्ग उडेको रातोमाटो भएको सो रंगशालामा खेलकुद प्रतियोगिता ताका खेलाडी धुलाम्य हुने गरेका थिए। दुबो रोपिएपछि रंगशालाको मुहारै फेरिएको स्थानीयहरु बताउँछन् । दुबो सरेपछि रंगशालाको हरियालीपूर्ण दृश्यले आफुलाई मोहित तुल्याएको कुम्भेश्वर माध्यमिक विद्यालयका शिक्षक माधब ठकुरीले सामाजिक संजालमा व्यक्त गरेका छन् ।

वाग्मती प्रदेश र शिवपुरी गाउँपालिकाले झण्डै ३ करोड खर्चिएको रंगशाला नुवाकोटको खेलकुद इतिहासमै अब्बल मान्न सकिने गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा बताउँछन । यस क्षेत्रका खेलकुदप्रेमीहरुलाई खेल खेल्ने तथा प्रशिक्षण गराउने मुल थलोको रुपमा समेत विकसित यस रंगशाला दुबो हुर्किएपछि फुटबल, भलिबलको अलवा अन्य खेलकुद प्रयोजनका लागि उपयुक्त हुने गाउँपालिकाले अपेक्षा राखेको छ। हुर्किदो क्रममा रहेको दुबो गोडमेल तथा रासायनिक मल दिने समय भएकाले थप सौन्दर्यता थपिने स्थानीयले आशा गरेका छन्।

दुबो सर्ने क्रममा रहेको तस्वीर

प्रतिक्रिया दिनुहोस्