साहस उर्जाको आईपीओमा आकर्षण, तेस्रो दिनसम्ममा १७ लाखभन्दा बढीले दिए आवेदन



काठमाडौं,असोज ९ । साहस उर्जा लिमिटेडको आईपीओ निष्कासनमा आएको तेस्रो दिनसम्ममा १७ लाख १६ हजार जनाले आवेदन दिएका छन् । 

विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार शुक्रवार २ बजेसम्ममा २ करोड ४६ लाख कित्ताका लागि आवेदन परेको हो । यो आवेदन सर्वसाधारणको लागि माग गरेभन्दा ३ दशमलव ८१ गुणा बढी हो ।

उक्त कम्पनीले भदौ ६ गतेदेखि रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी रहेको ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउने छन् । 

आईपीओ निष्कासनको बन्द मिति छिटोमा असोज १० गतेसम्म रहेको छ  । उक्त समय अगावै मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिमै निष्सकासन बन्द हुने भएको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीले निष्कासन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यलयबाट र मेरो शेयर मार्फत अनलाइनबाट शेयर भर्नसक्नेछन् । 

आईपीओ बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ५० करोड पुग्नेछ । कम्पनीले हाल सोलुखुम्बु जिल्लाको सोलुदुधकण्ड नगरपालिका र थुलुङ्गदुधकोशी गाउँपालिकामा ८६ मेगावट क्षमताको सोलु खोला दुधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।  उक्त आयोजनाबाट २०७९ जेठ २० गतेदेखि विद्युत् उत्पादन हुने सम्भावना रहेको कम्पनीले बताएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्