दुई महीनामै भित्रियो साढे ४४ करोडको विद्युतीय गाडी



काठमाडौं,असोज १० । सरकारले भन्सार महसुल बढाएपछि अघिल्लो आर्थिक वर्षको पहिलो २ महीना ठप्पै भएको विद्युतीय गाडीको आयात यस वर्ष भने ह्वात्तै बढेको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो २ महीनामा करीब साढे रू. ४४ करोडको विद्युतीय चारपांग्रे सवारीको आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको असार र साउनमा रू. ४४ करोड २ लाखको १४२ ओटा जीप, कार र भ्यान आयात भएको छ । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय गाडीको भन्सार बढाएर ४० देखि ८० प्रतिशतसम्म पुर्‍याएका थिए । भन्सार वृद्धिसँगै अघिल्लो वर्षको जेठदेखि भदौसम्म आयात ठप्पै देखिएको थियो ।

अघिल्लो आव २०७७/७८ को १२ महीनाको अवधिमा जम्मा २४९ ओटा मात्रै विद्युतीय जीप, कार र भ्यान आयात भएका थिए । उक्त अवधिमा नेपालमा रू. ६५ करोड ७८ लाखको विद्युतीय जीप, भ्यान र कार आयात भएको थियो । आव २०६६/६७ मा विद्युतीय गाडीको आयात संख्या ६ सयभन्दा बढी थियो ।

सरकारले आर्थिक अध्यादेश २०७८/७९ मार्फत विद्युतीय गाडीमा अन्तःशुल्क पूर्ण रूपमा हटाउनुका साथै भन्सार पनि घटाएको थियो । सरकारले विद्युतीय गाडी आयातमा सहजीकरण गरेपछि व्यवसायीमा उत्साह थपिएको नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।

अध्यादेश बजेटमार्पmत तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय गाडीको आयातमा १० देखि १५ प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरेकोमा प्रतिस्थापन बजेटले पनि त्यसैलाई निरन्तरता दिएको छ । ‘विद्युतीय गाडीको माग पहिलेदेखि उस्तै थियो,’ नाडाका अध्यक्ष दुलालले बताए, ‘भन्सार वृद्धिले मूल्य बढेपछि विक्री हुन सकेको थिएन । तर, अहिले बजारमा विद्युतीय गाडीको माग बढेको छ ।’ आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्