बढ्दै छ, वालेटमार्फत हुने कारोबार



काठमाडौं,असोज १० । विद्युतीय भुक्तानी सेवाप्रदायक वालेटमार्फत हुने कारोबार रकम पछिल्लो समय बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले यसमार्फत हुने कारोबार रकम बढ्दै गएको देखाएको हो ।

चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा मात्र वालेटमार्फत हुने कारोबार औसतभन्दा धेरै माथि गएको छ । गत आवको कुल कारोबार रकमको आधारमा वालेटमार्फत मासिक औसतमा ९ अर्ब ५३ करोड ६१ लाख रुपैयाँ कारोबार हुने गर्छ । तर, साउनमा वालेटमार्फत औसतभन्दा बढी १४ अर्ब ५ करोड २० लाख रुपैयाँ कारोबार भएको छ ।

वालेटमार्फत गत असारमा रू. १२ अर्ब ७९ करोड र जेठमा रू. ८ अर्ब ३५ करोड बराबरको कारोबार भएको थियो । पछिल्लो समय वालेटमार्फत हुने कारोबार रकम बढ्दै गएको तथ्यांकले पुष्टि गरेको छ । गत आवमा भने वालेटमार्फत १ खर्ब १४ अर्ब ४३ करोड रुपैयाँ कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कँडेलले पनि पछिल्लो समय वालेटमार्फत हुने कारोबार रकम बढ्दै गएको बताए । विशेषगरी यसको सेवासुविधाको दायरा बढ्दै जाँदा प्रयोगकर्तासँगै कारोबार रकम पनि बढ्दै गएको उनको भनाइ छ ।

‘पहिला वालेटमार्फत गरिने कारोबारको दायरा सीमित थियो । तर, धेरै किसिमका भुक्तानी यसैमार्फत नै गर्न सकिन्छ,’ उनले भने, ‘यसरी यसको दायरा बढ्दै गएपछि यसमार्फत हुने कारोबार रकम पनि बढ्दै गएको हो ।’

पछिल्लो समय यसमार्फत गरिने कारोबारको सीमा पनि बढाइएको छ । त्यसकारण पनि यसको सीमा बढ्दै गएको हो । कोरोना महामारीको समयमा विद्युतीय भुक्तानी गर्ने प्रचलनको पनि विकास भएको छ । फलस्वरूप वालेटमार्फत हुने कारोबार बढ्दै गएको सरोकारवालाहरू बताउँछन् । वालेट विद्युतीय भुक्तानी तथा कारोबारको साधन हो ।

नेपालमा यो प्रचलनमा आएको केही वर्ष मात्रा भएको छ । प्रचलनमा आएको छोटो समयमा नै वालेटको प्रयोग बढ्दै गएको सरोकारवालाहरू बताउँछन् ।

हाल नेपालमा २२ ओटा डिजिटल भुक्तानी दिने मोबाइल वालेट कम्पनी छन् । इसेवा, खल्ती, प्रभु पे, आईएमई पे, इनेटजस्ता वालेटले विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्दै आएका छन् । पहिला त्यस्ता वालेटले दिने सेवासुविधा कम थियो । पहिला सीमित प्रयोजनमा मात्र वालेटको प्रयोग हुन्थ्यो । तर, अहिले बैंक खातामा पैसा जम्मा गर्ने, इन्टरनेट/पानी/बिजुलीको बिल पे गर्ने, हवाई टिकट, फिल्म टिकट, मोबाइल रिचार्जलगायत थुप्रै सेवासुविधा यसमा हुन्छन् ।

फलस्वरूप वालेटको व्यावसायिक विकास पनि हुँदै गएको राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेल बताउँछन् । साथै, अन्यको तुलनामा यो आर्थिक रूपमा सुरक्षित पनि भएको उनको भनाइ छ । ‘ग्राहकले आफूलाई आवश्यक पर्ने रकम बैंकखाताबाट वालेटमा जम्मा गरेर सोहीअनुसार खर्च गर्न सक्छन् । बैंकको पैसा बैंकमा नै सुरक्षित हुन्छ । बढी खर्च हुने सम्भावना हुँदैन,’ उनले भने, ‘तसर्थ, यो आर्थिक रूपमा सुरक्षित पनि छ ।’ आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्