‘व्यापार घाटा कम गर्न सहज निर्यात नीति आवश्यक’



विराटनगर,असोज १० । सरकारले निर्यात व्यापारका लागि आवश्यक तयारी गर्न नसक्दा मुलुकले व्यापार घाटा बेहोर्नुपरेको विराटनगरमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । निर्यात अभिवृद्धिको माध्यमबाट व्यापार घाटा न्यूनीकरण गर्न नेपाल सरकारले ल्याएको नेपाल व्यापार एकीकरण रणनीति २०१६ को आगामी संशोधनमा समावेश गर्नुपर्ने विषयवस्तुबारे उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सहभागीले यस्तो बताएका हुन् । व्यापार घाटा कम गर्न सरकारले सहज निर्यात नीति लिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

अन्तरक्रियामा संगठनका तर्फबाट सुझाव प्रस्तुत गर्दै संगठनका अध्यक्ष सुयश प्याकुरेलले २०१६ को रणनीति योजनामा देखिएका कमीकमजोरीको सुधार गरी आगामी नीति तय गर्नुपर्ने बताए । विश्वबजारमा मौलिक चिनारी बोकेका नेपाली वस्तुको माग भए तापनि निर्यातमा देखिएको प्रक्रियागत जटिलता, बढ्दो उत्पादन लागत तथा लजिष्टिक खर्च, ढुवानीको समस्या, कूटनीतिक पहलको अभाव लगायत कारणले अपेक्षित प्रगति नभएको उनको भनाइ छ । निर्यात प्रवद्र्धनमा देखिएका जटिलता सम्बोधन गर्नेगरी आगामी रणनीति आउनुपर्ने धारणा उनले राखे ।

कार्यक्रममा पूर्व अर्थसचिव एवं संगठनका विशिष्ठ सल्लाहकार रामेश्वर खनालले नेपाल व्यापार एकीकरण रणनिति २०१६ सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै वैदेशिक व्यापार अभिवृद्धिमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने सबै क्षेत्रलाई समावेश गरी ‘इको सिस्टम’को विकास गर्नुपर्ने औंल्याए । आर्थिक विकासको मेरुदण्डका रूपमा रहेका आन्तरिक उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी निर्यातलाई बढावा दिन सरकार–निजीक्षेत्रबीच सहकार्य हुनुपर्ने उनले बताए । राज्यले उद्योग व्यवसायको विकासका लागि सहज र सरल नीति निर्माण गरी सहजीकरण गर्नुपर्ने भन्दै उनले आवश्यक व्यवस्था सहितको व्यापार रणनीति तय गर्न कार्यक्रमबाट प्राप्त सुझाव महत्त्वपूर्ण रहेको अपेक्षा गरे ।

नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्दीय सदस्य अविनाश बोहराले निर्यात व्यापारको महत्त्वपूर्ण पक्षको रूपमा रहेको सिपिङ कम्पनी नहुनु, डिटेन्शनका नाममा अतिरिक्त खर्चको व्ययभार उद्योगले व्यहोर्नुपर्ने, अन्तरराष्ट्रियस्तरको मान्यता प्राप्त ल्याब नहुनु जस्ता कारण निर्यात व्यापार बढ्न नसकेको बताए । निर्यात अभिवृद्धिका लागि नीति निर्माणका साथैै पूर्वाधार विकासमा सरकारले ध्यान दिनुपर्ने विचार उनले व्यक्त गरे ।

आर्थिक रूपमा नेपालभन्दा पछि रहेका मुलुकले निर्यात व्यापारमा गरेको परिवर्तन र प्रोत्साहनले उनीहरू निकै अघि बढिसकेको सहभागीहरूले बताएका थिए । कार्यक्रममा संगठनका पूर्वअध्यक्ष मुकेश उपाध्याय, वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, उपाध्यक्ष नन्दकिशोर राठी, कोषाध्यक्ष विपीन कावरा लगायत कार्य समिति सदस्य, निर्यातकर्ता उद्यमी, महिला उद्यमी, युवा उद्यमी र विद्यार्थीको उपस्थिति थियो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्