नुवाकोट थान्सिङमा टिप्परको ठक्करबाट तरुण दल नेता गजुरेलको मृत्यु



नुवाकोट,असोज १० । जिल्लाको लिखु गाउँपालिकास्थित थानसिङमा टिपरको ठक्करबाट एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन । शनिबार राति लिखु गाउँपालिकाको अमिलबोटेमा ना ८ ख ५७९१ नम्बरको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको छहरे प्रहरी चौकीका असई रामबहादुर घिसिङले जानकारी दिएका छन् ।

टिपरको ठक्करबाट मृत्यु हुनेमा तरूण दल नुवाकोटका नेता रामकुमार गजुरेल रहेका छन् । दुर्घटनामा नमराव रोक्का र प्रकाश पाठक गम्भीर घाइते भएका छन । उनीहरूको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनास्थलमै मृत्यु भएका गजुरेल गत स्थानीय निर्वाचनमा लिखु ३ मा वडा अध्यक्षका उम्मेदवार समेत थिए ।

सडकको किनारामा साइड लाइट बालेर मोटरसाइकल रोकी राखेर कुराकानी गरिरहेका युवाहरू भएको स्थानमा टिपरले ठक्कर दिएको स्थानीयले बताएका छन। टिपर लाइसेन्स नभएको व्यक्तिले चलाएको र उनी भागेको बताइएको छ । अहिले स्थानीयले बाटो बन्द गरेर दोषीमाथि कारबाहीको माग गरिरहेका छन भने घटनास्थलमा मुचुल्का उठाउने काम भैरहेको असई घिसिङले बताए।

प्रतिक्रिया दिनुहोस्