झोरवासीलाई खुसीको खबर ! चण्डेश्वरी-जलेश्वर हुँदै बौडेश्वर झरनासम्म पर्यटकीय पदमार्ग निर्माण सुरु



काठमाडौं,असोज १० । टोखा नगरपालिका वडा नम्बर १ ले शिवपुरी राष्ट्रिय निकुञ्जको काखैमा पदयात्रा मार्ग निर्माण सुरु गरेको छ। आइतबार एक समारोहका बीच टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले टोखा चण्डेश्वरी- जलेश्वर मन्दिर हुँदै बौडेश्वर झरना पदमार्गको उद्घाटन गरेका हुन्।

सो पदमार्ग निर्माणका लागि कोरोना भाइरसका कारण पर्यटन बोर्डका कामहिन मजदुरले दैनिक श्रम गर्नेछन् । चण्डेश्वरीदेखि बौडेश्वर झरनासम्म करिब १३ किलोमीटर पदमार्ग निर्माणका लागि सयजना कामदार नियमित खट्ने टोखा नगरपालिका वडा नम्बर १ कार्यालयले जनाएको छ।

पदमार्ग निर्माणका लागि २५ जनाको चारवटा समूह विभिन्न स्थानबाट खट्ने कार्यालयले जनाएको छ। झोरको भण्डारेबाट जलेश्वर र गैरी गाउँ हुँदै दुई टोलीले काम गर्नेछन् भने कठेरी र फूलबारीबाट १/१ गरी दुई टोलीले पदमार्ग निर्माण थालनी गरेका छन् ।

विक्रम संवत २०७८ सालमै डिपिआर तयार भैसकेको यस पदमार्ग निर्माणका लागि सम्पुर्ण खर्च पर्यटन बोर्डले ब्यहोर्नेछ। पदमार्ग निर्माणका लागि टोखा नगरले ३० लाख बजेट विनियोजन यसअघि नै गरिसकेको छ। नगरले पदमार्गमा पर्ने पुलपुलेसा, आकर्षक रेलिङ ब्यवस्थापन लगायत कार्यमा सो रकम खर्चिने जनाएको छ। पदमार्ग उद्घाटन समारोहमा टोखा नगरका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञानमाया डङोल, टोखा नगरका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य, वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारी, एमालेका नेता कृष्णप्रसाद अधिकारी वडा नम्बर १ एमालेका अध्यक्ष दिलबहादुर तामाङ, समाजसेवी दिपेन्द्र लामिछाने, प्रमोद अधिकारी, सन्तोष दुलाल लगायतको उपस्थिति रहेको थियोे।

प्रतिक्रिया दिनुहोस्