तल्लो मोदी–१ जलविद्युत् आयोजनाको उत्पादन अझै ठप्प



पर्वत,असोज ११ । पहिरोको कारण क्षतिग्रस्त बनेको पर्वतको मोदीखोलामा सञ्चालित तल्लो मोदी–१ जलविद्युत् आयोजनाको उत्पादन अझै सञ्चालन हुन सकेको छैन । भदौ १७ गते राति वर्षासँगै आएको पहिरोले आयोजनाका विभिन्न संरचनामा क्षति भएपछि विद्युत् उत्पादन ठप्प छ ।

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित यो आयोजनामा तत्काल मर्मत गर्न नसकिनेगरी क्षति पुगेको हो । बाढीले आयोजनाको नहर, बाँधस्थल, शेयर वाल, स्ल्याबलगायत संरचनामा क्षति पुगेको छ ।

मुख्य स्टेशनमा पहिरोले कुनै क्षति नभए पनि बाहिरी संरचनाहरू भने बिग्रिएको आयोजना प्रमुख उपेन्द्र गौतमले जानकारी दिए । गौतमका अनुसार आयोजनाको विद्युत्गृहदेखि मोदी सबस्टेशन जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनको चार नम्बर टावरसमेत पहिरोले ढालेको छ ।

टावर ढलेसँगै तल्लो मोदी–१ को विद्युत्गृहमा पानी पठाउने नहरको ५०० मिटर भागमा लेदोसहितको माटो थुप्रिनुका साथै करीब एक किमी क्षेत्रमा क्षति पुगेको थियो ।

त्यसबाहेक युनाइटेड मोदी आयोजनाले नै निर्माण गरेको विद्युत् प्रसारण टावरसमेत पहिरोले ढालेको छ ।

ढालेको टावर निर्माणमा मात्रै करीब रू. डेढ करोड खर्च लाग्ने आयोजना कार्यालयले जानकारी दिएको छ । आयोजनाको विद्युत् उत्पादन रोकिँदा दैनिक १० लाखदेखि ११ लाख रुपैयाँ बराबरको नोक्सान भइरहेको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक गौतमले जानकारी दिए । बाढी र पहिरोका कारण ५ करोडभन्दा बढी नोक्सान भएको उनले बताए । अहिले मर्मतको काम चलिरहेको र अझै केही समय लाग्ने उनको भनाइ छ ।

सो कम्पनीले नै निर्माण गरेको प्रसारण लाइनको टावर ढाल्दा करीब २ साता धवलागिरिको विद्युत् प्रसारण रोकिएको थियो । टावर पुरानै अवस्थामा पुनर्निर्माण गर्न अझै केही महीना लाग्ने कम्पनीले जानकारी दिएको छ ।

सोही टावर हुँदै १० मेगावाटको तल्लो मोदी–१ सहित म्याग्दीको अन्नपूर्ण–४ नारच्याङस्थित ४२ मेगावाटको मिस्त्रीखोला, ५ मेगावाटको घलेम्दीखोला र मुस्ताङको थासाङ–१ टुकुचेको १३ दशमलव ६ मेगावाटको थापाखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रसारण भइरहेको थियो । युनाइटेड मोदीको तल्लोमोदी–१ बाहेक म्याग्दी र मुस्ताङको विद्युत् भने भदौ ३१ देखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।  

गत माघमा सम्पन्न भएको खुर्कोट–दाना प्रसारण लाइन सम्पन्न भएपछि मुस्ताङ र म्याग्दीमा उत्पादित विद्युत् पनि यही बाटो हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्