व्यावसायिक बन्दै म्याग्दीमा भेडापालन



म्याग्दी,असोज ११ । म्याग्दीका हिमाली खर्कहरूमा भेडापालन व्यवसाय फस्टाउँदै गएको छ । विदेश गएर फर्केका युवाहरूले आफ्नो पुख्र्यौली पेशालाई आधुनिक तरिकाबाट सञ्चालन गर्न थालेपछि भेडापालनले पनि व्यावसायिक रूप लिँदै गएको हो ।

सिंगापुर र मलेशियाको करीब २ दशक लामो वैदेशिक रोजगारीलाई बिट मारेर फर्किएका धवलागिरि गाउँपालिका–५ मल्काबाङबका देबान छन्त्याल, रघुगंगा गाउँपालिका–८ पात्लेखर्कका मिलन छन्त्याल, ८ वर्षसम्म इराक बसेर फर्केका पात्लेखर्ककै दानबहादुर गर्बुजा लगायत युवाले विदेशमा कमाएको ५० लाखभन्दा बढी रकम खर्चेर व्यावसायिक रूपमै नै भेडापालन शुरू गरेका हुन् ।

गाउँ शहरमा कोरोनाको कहरले युवाहरू बेरोजगार बनिरहेका बेला कोरोना र लकडाउनको प्रवाहविना भेडापालनमा व्यस्त छन् । फार्म नै दर्ता गरी व्यावसायिक भेडापालन शुरू गरेका उनको फार्ममा अहिले २५० ओटाभन्दा बढी भेडा छन् ।

उनले ५ वर्षदेखि वनजंगलमा घुम्ती गोठबाट भेडापालन गरेका छन् । उत्पादन भएका भेडाबाख्राका लागि बजारको अभाव नभएको उनले बताए ।

यस्तै पात्लेखर्ककै दानबहादुर गर्बुजाले पनि प्रवासमा आर्जन गरेको कमाइ गाउँमै भेडापालनमा लगानी गरेका छन् । रोजगारको क्रममा आठ वर्षसम्म इराक बसेर फर्केका गर्बुजाले १३ लाख लगानीमा भेडापालन व्यवसाय शुरू गरेका हु्न् । उनको गोठमा अहिले भेडाको संख्या २५० नाघेको छ । भेडा विक्रीबाट उनले वार्षिक आठ लाखदेखि १० लाख रुपैयाँसम्म कमाउँछन् ।

यहाँका भेडीगोठ छिसखर्क हुँदै चौरवन, च्यामली, रिखार हुँदै धौलागिरि हिमालको आधार शिविरसम्म लैजाने गरिन्छ । खाद्यान्न सामग्री लिन गाउँ झर्नेबाहेक अन्य चाडपर्वदेखि वर्षात् र हिउँ पर्ने समयमा गोठको जीवन अति कष्टकर हुने भएकाले घुम्ती गोठ रहने क्षेत्रमा आश्रयस्थल बनाइदिए आफूहरूलाई सहज हुने भेडापालक किसान मिलन छन्त्यालको भनाइ छ ।

भेडा खरीदका लागि व्यापारीहरू गोठमै पुग्ने गर्छन् । व्यापारीहरू गोठमै आउने भएकाले बजारको समस्या नरहेको भेडापालक युवा छन्त्यालको भनाइ छ । यस क्षेत्रबाट वार्षिक करीब २०० भेडा विक्री हुने उनको भनाइ छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्