वर्षाको सम्भावना रहेकाले धान काट्दा सावधानी अपनाउन आग्रह
धादिङ, कात्तिक ११ । कृषि विकास कार्यालय धादिङले मौसमको अवस्था बुझेर मात्र धान काट्न तथा भित्र्याउन कृषकलाई आग्रह गरेको छ।
कार्यालयले जारी गरेको सूचनाअनुसार कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेकाले धानबालीमा क्षति हुन नदिन सावधानी अपनाउन अनुरोध गरिएको हो।
पाकिसकेको धान मौसम अनुकूल भए आजै भित्र्याउन वा कात्तिक १५ गतेपछि मात्र काट्न कार्यालयले सुझाव दिएको छ। तत्काल भित्र्याउन नसकिने धान मौसममा सुधार आएपछि काट्ने गरी समय मिलाउन पनि आग्रह गरिएको छ।
त्यसैगरी, धान नपाकेका खेतमा कुलो वा नाली काटेर पानी निकासको व्यवस्था गर्न कार्यालयले अनुरोध गरेको छ। हावाहुरी वा वर्षाका कारण धान ढलेको भए बाला पानीमा डुब्न नदिन मुठो पारेर ठड्याउने वा अग्लो ठाउँमा राख्ने व्यवस्था मिलाउनसमेत कृषकलाई आग्रह गरिएको छ।

