मुक्तिनाथ मन्दिर सर्वसाधारणका लागि खुला



म्याग्दी,असोज ११ । कोभिड–१९ संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेको धार्मिक तथा पर्यटकीय स्थल मुस्ताङको मुक्तिनाथ मन्दिर आइतवारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार जिल्ला प्रशासन कार्यालयमा असोज ५ मा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरे अनुसार आइतवारदेखि खुला गरिएको हो । अन्य जिल्लामा जस्तै मुस्ताङमा पनि संक्रमणको जोखिम कम हुँदै गएकाले अन्य धार्मिक क्षेत्र पनि खुला गरिएको हो । ‘अहिले सोह्र श्राद्धको बेला पनि हो । यो बेलामा मुस्ताङ आएर दिवंगत आफन्तलाई पिण्ड दान गर्ने तथा मुक्तिनाथ दर्शन गर्नेहरू धेरै हुन्छन्, प्रजिअ अधिकारीले भने, ‘जोखिम कम हुँदै गएकाले पूजाआजाका लागि मन्दिर खुला गरिएको छ ।’

मन्दिर खुला भए पनि पूजाआजाका क्रममा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड भने पालना गरिएको हुनुपर्ने प्रजिअ पौडेलको भनाइ छ । त्यसमा पनि स्वदेशीका लागि पीसीआर, एन्टिजेन परीक्षणको रिपोर्ट वा कोरोनाविरुद्धको खोप लगाएकामध्ये कुनै एक प्रमाण र विदेशीका लागि पछिल्लो सात दिनभित्रको पीसीआर रिपोर्ट देखाएर मात्रै मन्दिरमा प्रवेश गर्न पाउने निर्णय गरिएको छ । हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रूपमा रहेको मुक्तिनाथ मन्दिर गत वैशाखदेखि बन्द गरिएको थियो । मन्दिर र जिल्लाका अन्य गन्तव्य खुला भएकाले पर्यटक आगमन बढ्ने कागबेनीका होटेल व्यवसायी छेप्तेन गुरुङले बताए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्