विराटनगरमा ल्याण्ड हुन नसकेको जहाज काठमाडौंमा अवतरण, सबै यात्रु सकुशल



काठमाडौं,असोज ११ । विराटनगरका लागि काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा ल्याण्ड हुन नसकेपछि काठमाडौं फर्किएर सुरक्षित अवतरण गरिएको छ ।

विराटनगरबाट काठमाडौं फर्किएको जहाजले काठमाडौंमा १० फन्का मारेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा सकुशल अवतरण गरेको हो ।

जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको थियो ।

ल्यान्डिङ गियरमा समस्या भएपछि विराटनगरमा जहाज ल्यान्ड हुन नसकेको विमानस्थल कन्ट्रोल रुमले जनाएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फोर्स ल्याण्ड गरिएको बुद्ध एयरको जहाजमा सवार यात्रु सकुशल रहेका छन्। जहाजमा रहेका सबै यात्रु सकुशल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।

विमानमा ७५ जना यात्रु सवार थिए। सोमबार बिहान ८ः ३० बजे बुद्ध एयरको विमान काठमाडौंबाट विराटनगरका लागि उडेको थियो। जहाज ल्यान्डिङ गियर(पाङ्ग्रा) नखुल्दा झन्डै दुई घण्टापछि काठमाडौंमै अवतरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्