सामान्य बन्दै वैदेशिक रोजगारी



बढ्दो छ, विदेशिने कामदारको संख्या

काठमाडौं,असोज १२ । कोरोनाका कारण निकै प्रभावित वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्कन लागेको देखिएको छ । कोरोना महामारी शुरू भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै घटेको थियो । तर, पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको छ ।

वैदेशिक रोजगार विभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार गत असारदेखि नै वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको देखिएको छ । गत असारमा २० हजार ६५८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । साउनमा २५ हजार ४२८ र भदौमा ३६ हजार ४० जना नेपाली वैदेशिक रोजगारीमा गएको तथ्यांकले देखाएको छ । यसरी वैदेशिक रोजगारीमा जाने कामदारको संख्या सामान्य अवस्थामा जसरी नै बढ्दै गएको पुष्टि भएको छ ।

सामान्य अवस्थामा नेपालबाट वैदेशिक रोजगारीमा मासिक ३० हजारभन्दा बढी कामदार जाने गरेको विभागको विगतका तथ्यांकले देखाएको छ । गत जेठमा ४ हजार ८६ जना नेपाली मात्र वैदेशिक रोजगारीमा गएका थिए ।

नेपालमा कोरोना महामारी शुरू भएपछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ह्वात्तै घटेको थियो । सरकारले २०७६ फागुनको अन्तिम साता श्रमस्वीकृति दिन स्थगित नै गरेको थियो । २०७७ असारदेखि श्रमस्वीकृति दिन शुरू गरे पनि नगण्य मात्रामा नेपाली कामदार विदेश गइरहेका थिए ।

कोरोना नियन्त्रण गर्न विश्वव्यापी रूपमा लगाइएको बन्दाबन्दी, श्रमगन्तव्य मुलुकमा भएको आर्थिक संकट, रोजगारदाता कम्पनीमा परेको असरका कारण विदेशिने कामदारको संख्या ह्वात्तै घटेको थियो । तर, पछिल्लो समय वैदेशिक रोजगार क्षेत्र सामान्य अवस्थामा आएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए ।
 
‘हामीले १८ महीनाभन्दा बढी कोरोना महामारीको सामना गर्‍यौं । त्यस अवधिमा वैदेशिक रोजगार क्षेत्र नमज्जाले प्रभावित भयो । तर, अहिले वैदेशिक रोजगारी क्षेत्र फस्टाउँदै गएको छ,’ उनले भने, ‘अब छिट्टै यो क्षेत्र सामान्य अवस्थामा फर्केर अगाडि बढ्छ ।’

पछिल्लो समय रोजगारदाताहरूले गर्ने कामदारको माग पनि बढ्दै गएको छ । वैदेशिक रोजगारमा जाने कामदारलाई प्राथमिकताका साथ कोरोनाविरुद्धको खोप लगाइएको छ । साथै, श्रमगन्तव्य मुलुकहरू पनि विस्तारै खुल्दै गएका छन् । फलस्वरूप वैदेशिक रोजगारमा जाने कामदारको संख्या बढ्दै गएको श्रेष्ठ बताउँछन् ।

सामान्य अवस्थामा नेपालबाट वार्षिक ४/५ लाख कामदार वैदेशिक रोजगारीमा जाने गर्छन् । तर, गत आवमा १ लाख ६६ हजार ६९८ जना नेपाली कामदार मात्र वैदेशिक रोजगारीमा गएका थिए । अघिल्लो आव २०७६/७७ मो भने ३ लाख ६८ हजार ४३३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका थिए । आव २०७५/७६ मा पनि त्योभन्दा बढी अर्थात् ५ लाख ८ हजार ८२८ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । अब यो वर्ष पनि सोहीअनुरूप नै नेपाली कामदार वैदेशिक रोजगारीमा जाने अनुमान श्रेष्ठको छ । हाल दैनिक १ हजार २०० जना नेपाली वैदेशिक रोजगारीमा गएको उनको भनाइ छ ।

वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएपछि यसले अर्थतन्त्रमा पनि ठूलो सहयोग पुग्ने बताइएको छ । नेपालको अर्थतन्त्र अझै पनि विप्रेषणमा नै निर्भरजस्तो छ । यसरी वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएपछि विप्रेषण आप्रवाहमा पनि सकारात्मक प्रभाव पर्ने सरोकारवालाहरू बताउँछन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्