कोरोना महामारीको असर औद्योगिक क्षेत्रमा कम हुँदै, ८३ % उद्योगी नयाँ लगानीका लागि तयार



गत आवको चौथो त्रैमासमा उद्योगको क्षमता ६४.८ % ले उपयोग

काठमाडौं,असोज १६ । नेपाल उद्योग परिसंघले प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरेर पहिलो औद्योगिक अवस्थिति प्रतिवेदन सार्वजनिक गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले शुक्रवार परिसंघले त्रैमासिक रुपमा सार्वजनिक गर्ने प्रतिवेदनको पहिलो अंक सार्वजनिक गरेका हुन् ।
 
गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा उत्पादन मूलक उद्योग, सेवा क्षेत्र, कृषि र ऊर्जा क्षेत्रका उद्योगको अवस्थाका विषयमा प्रतिवेदनमा विस्तृत तथ्यांक समेटिएको छ । उक्त प्रतिवेदनले उक्त अवधिमा उद्योगहरुले कुल उत्पादन क्षमताको ६४ दशमलव ८ प्रतिशत क्षमता उपयोग गरेको देखाएको छ ।

प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७६/ ०७७ को चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्ष २०७७/ ०७८ को चौथो त्रैमासमा उद्योगको आय वृद्धिदर ८ प्रतिशत रहेको बढेको देखाएको छ । तर, त्यसअघिको वर्षको चौथो त्रैमासमा भने उद्योगको आय ४ दशमलव ७ प्रतिशतले ऋणात्मक थियो । प्रतिवेदनले व्यवसायको क्षमता उपयोगमा कोभिड- १९ को महामारीको प्रत्यक्ष असर परेको र यो अवस्था सुधारोन्मुख रहेको देखाएको छ । 

अध्ययन भएको अवधिमा कृषि क्षेत्रका उद्योगले औषतमा ८ दशमलव ३ प्रतिशत, ऊर्जा क्षेत्रका उद्योगले औषतमा ७ दशमलव ४ प्रतिशत, उत्पादनमूलक उद्योगले औषतमा ७ दशमलव ७ प्रतिशत र सेवा क्षेत्रका उद्योगले औषतमा ८ दशमलव ४ प्रतिशत ब्याज तिरेका छन् । उत्पादन मूलक उद्योगहरुले आफ्नो चालूपूँजीको ६६ दशमलव १ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ । 

अध्ययनमा सहभागी भएकामध्ये ८३ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि आफू तयार रहेको बताएका छन् । यसैगरी ६९ दशमलव ७ प्रतिशत उद्योगहरुले जेनेरेटरबाट ऊर्जा उत्पादन गरी उद्योग सञ्चालन गरिरहेको अध्ययनले देखाएको छ । यसले उद्योगको उत्पादनलागत ४ दशमलव ९ प्रतिशतले बढेको सर्वेक्षणले देखाएको छ । 

कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा पौडेलले निजी क्षेत्रले गरेका यस्ता अध्ययनले अर्थतन्त्र कसरी सञ्चालन भइरहेको छ भन्ने यथार्थ विवरण प्रस्तुतगर्ने बताए । यसैगरी निजी क्षेत्रबाट आउने यस्ता प्रतिवेदनले निजी क्षेत्रले कसरी काम गरिरहेको छ भन्ने जानकारी सरकारलाई दिने उल्लेख गरे । उनले प्रतिवेदनको निरन्तरताका लागि आग्रह पनि  गरेका छन् । 

यसैगरी परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले प्रतिवेदनले निजी क्षेत्रले थिंक ट्यांकको रुपमा कसरी काम गरिरहेको छ भन्ने देखाउने बताए । उनले परिसंघको तर्फबाट सुझाव मात्रै दिने नभइ उद्योगको यथार्थ चित्रणसमेत प्रस्तुत गर्न खोजेको उल्लेख गरे । 

यसैगरी परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले औद्योगीकरणका लागि सरकारसँग हातेमालो गर्न परिसंघ सधैं तयार रहेको उल्लेख गरे । उनले अहिले अर्थतन्त्रमा संकट देखिएको भन्दै त्यसलाई सबै पक्षमिलेर समाधान गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रतिवेदनले उद्योगको अवस्थाबारे जानकारी दिने र यसलाई परिसंघले हरेक त्रैमासमा निरन्तर प्रकाशन गर्ने बताए । 

नेपालको औद्योगिक क्षेत्रको आवधिक तथ्यांक नभएको अवस्थामा परिसंघले पहिलोपटक यस्तो प्रतिवेदन तयार गरेको हो । परिसंघ अन्तर्गतको रिसर्च सेलले उद्योगहरुसँगको सर्वेक्षणको आधारमा उक्त प्रतिवेदन तयार गरेको हो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्