रानी–विराटनगर नाका खुला



विराटनगर,असोज १७ । कोरोना महामारीका कारण भारत र नेपालको रानी जोगवनी सीमानाका बन्द भएको १९ महीनापछि शनिवारबाट पूर्णरूपमा सर्वसाधारणका लागि खुला गरिएको छ ।
सर्वसाधारणका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनलाई पनि आउजाउको छूट दिइएको छ ।

नाकाबन्द हुँदा खेतखलियानको बाटो प्रयोग गरेर भए पनि जोगवनी बजार आउजाउ गर्न अवरोध थिएन । असोज ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले नाका खोल्ने निर्णय गरे पनि भन्सार विभागले विराटनगर भन्सार कार्यालयलाई नाका खोल्न आदेश नदिएपछि नाका बन्द नै रहेको थियो । तर, विभागको पत्र प्राप्त भएपछि जिल्ला प्रशासनले आवश्यक स्वास्थ्य सावधानी अपनाएर शनिवारबाट लागू हुनेगरी नाका पूर्णरूपमा सञ्चालनमा ल्याएको हो ।

सर्वसाधारणको आवतजावत केही समय अगाडिदेखि नै भइरहेको भए पनि सवारीसाधन आवतजावत पूर्णरूपमा बन्द थियो । शनिवारबाट भने सबै प्रकारको आवतजावत खुला भएको छ । नाका खुलेपछि नेपाल र भारतबाट दुईपाङ्ग्रे, चारपाङ्ग्रे साना र ठूला सवारीसाधन आउजाउ गर्न थालेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले भारतबाट आउने सबै यात्रुलाई नाकामा रहेको स्वास्थ्य डेस्कले स्वास्थ्य सावधानी अपनाउन र ज्वरो जाँच गरेपछि मास्क लगाएर मात्र नेपाल प्रवेशको सुविधा दिनेछ । पहिले पनि रानी नाकामा स्वास्थ्य डेस्कमार्फत चेकजाँच भइरहेको थियो ।

सीमाक्षेत्रका स्थानीयका अनुसार पहिले हिँडेर नाका पार गरेर जोगवनी बजारमा किनमेल गर्नेको भीड भए पनि शनिवारबाट गाडी नै लिएर पारि दशैं किनमेल गर्नेहरूको निकै घुइँचो लागेको छ । यही कारण भारतीय बजार जोगवनीमा ट्राफिक व्यवस्थापनमा कठिनाइ आएको छ । सहज रूपमा यात्रु आवतजावत गर्न थालेपछि अहिले भारतीय रेलवे स्टेशन र जोगवनी बजारमा नेपालीहरूको भीड लागेको भारतीय पत्रकार अरूण मिश्राले बताए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्