‘८३% उद्योगी लगानी थप्न इच्छुक’



काठमाडौं,असोज १७ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका बिच लगानी थप्न तथा व्यवसाय विस्तार गर्न ‘पर्ख र हेर’ को अवस्थामा रहेका उद्योगी व्यवसायीहरू अब नयाँ लगानी थप्न इच्छुक भएका छन् । औद्योगिक अवस्थितिका विषयमा गरिएको एक अध्ययनले ८३ प्रतिशत उद्योगीहरू नयाँ लगानीका लागि तयार भएको देखाएको हो । नेपाल उद्योग परिसंघ (सीएनआई)ले विभिन्न क्षेत्रगत उद्योगहरूमा गरेको अध्ययनले कोभिडको असर कम हुँदा र उद्योगी व्यवसायीको मनस्थिति पनि परिवर्तन भएकाले उनीहरू नयाँ लगानीका लागि तयार भएको देखाएको छ ।

परिसंघका अध्यक्ष विष्णु अग्रवालले कोभिडकै अवस्थामा पनि उद्योगी व्यवसायीहरूले लगानी गर्न इच्छा देखाएको बताए । थप लगानी गर्न उद्योगीहरू तयार भएको भन्दै उनले यसले औद्योगिक क्षेत्रमा अब सकारात्मक सुधार देखिने विश्वास व्यक्त गरे ।

सीएनआईले उद्योगको अवस्था, कोभिडको बीचमा उद्योगीहरू लगानीका लागि इच्छुक छन् वा अझै पनि पर्ख र हेरकै अवस्था हो भन्ने मनस्थिति बुझ्न पनि अध्ययन गरेको उनको भनाइ छ । परिसंघले गत आर्थिक वर्ष २०७७/७८ मा प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरी नेपाल उद्योग परिसंघले पहिलो औद्योगिक अवस्थिति प्रतिवेदन सार्वजनिक गरेको हो । शुक्रवार उक्त प्रतिवेदन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेलले सार्वजनिक गरेका हुन् ।

प्रतिवेदनअनुसार उद्योगको क्षमता ६४ दशमलव ८ प्रतिशतले उपयोग भएको र कोभिडको असर पनि कम हुँदै गएको अध्ययनको निष्कर्ष छ । उक्त अध्ययनमा उत्पादनमूलक उद्योग, सेवाक्षेत्र, कृषि र ऊर्जाक्षेत्रका उद्योग समेटिएको छ । गत आवमा उद्योगहरूले कुल उत्पादन क्षमताको उक्त क्षमता उपयोग गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा उद्योगको आय वृद्धि दर ८ प्रतिशतले बढेको देखाइएको छ । तर, त्यसअघिको वर्षमा भने यस्तो आय वृद्धि ४ दशमलव ७ प्रतिशतले गुणात्मक थियो ।

उत्पादनमूलक उद्योगहरूले आफ्नो चालू पूँजीको ६६ दशमलव १ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ । नेपालमा ऊर्जा उत्पादन पर्याप्त भएका विषयहरू बाहिर आउँदै गर्दा यता ६९ दशमलव ७ प्रतिशत उद्योगहरूले भने जेनेरेटरबाट ऊर्जा उत्पादन गरी उद्योग सञ्चालन गरिरहेको पाइएको छ । अध्यक्ष अग्रवालले २ ओटा कारणले अझै पनि जेनेरेटरबाट ऊर्जा उत्पादन गर्नु परेको बताए । ‘पहिलो उद्योगसम्म बिजुली नै नपुग्नु हो,’ उनले भने, ‘अर्काे भनेको बिजुली पुगे पनि गुणस्तरीय नभएको हुन सक्छ ।’ कोभिडका कारण त्रासमा रहेका उद्योगीहरूको सेन्टिमेन्ट पनि राम्रो हुँदै आएको पाइएको उनले बताए । उद्योगीहरू आशावादी बन्दै आएको उनको बुझाइ छ । उद्योगको उत्पादन लागत भने ४ दशमलव ९ प्रतिशतले बढेको अध्ययनले देखाएको छ । परिसंघअन्तर्गतको रिसर्च सेलले उद्योगहरूसँगको सर्वेक्षणको आधारमा प्रतिवेदन तयार गरेको हो । २०७६ चैत ११ गते मुलुकमा भएको बन्दाबन्दी र जारी कोभिडका कारण उद्योगको क्षमता उपयोगमा उल्लेख्य ह्रास आएको थियो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्