विज्ञापन खोल्ने तयारीमा शिक्षक सेवा आयोग



काठमाडौं, असोज १७ । शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ ।

केन्द्रले २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको पदपूर्तिको विवरणसहित आयोगमा पठाएको छ । आयोगका सदस्य–सचिव दिनेश श्रेष्ठका अनुसार आयोगले १७ हजार ४७ जनाको खुला पदपूर्तिका लागि विज्ञापन गर्ने तयारी गरेको छ ।

तथ्यांकअनुसार निम्न माध्यमिक विद्यालयमा अंग्रेजी विषयमा ६ सय २२, नेपालीमा ४ सय ३६ र विज्ञानमा ४ सय ४० दरबन्दी रिक्त रहेको छ । माध्यमिक विद्यालय तहको विज्ञान ४ सय ३३, अंग्रेजीमा ३ सय १३ र नेपाली २ सय ३० शिक्षक दरबन्दी रिक्त रहेको छ । त्यस्तै, ऐच्छिक विषयमा १ हजार ५ सय ४२ शिक्षक पद रिक्त छ ।

केन्द्रले शिक्षक सेवा आयोगमा पठाएका विवरणअनुसार निमावि र माविमा नेपाली र विज्ञान विषयमा धेरै शिक्षक दरबन्दी अभाव देखिएको तथ्यांकमा उल्लेख छ । आयोगले शिक्षक पदमा खुला प्रतिस्पर्धाका लागि केन्द्रसँग आवश्यक पदपूर्ति गर्न रिक्त शिक्षकको संख्या माग गरेको थियो ।

केन्द्रले आयोगमा पेस गरेको तथ्यांकअनुसार सबैभन्दा बढी प्रावि तहमा १२ हजार ९ सय १२ दरबन्दी रिक्त छन् । मावि तहमा १ हजार ५ सय ४२ र निमाविमा २ हजार ५ सय ९३ पदमा खुला विज्ञापन गरी शिक्षकको पदपूर्ति गर्नेछ । दरबन्दीअनुसारको विज्ञापन गर्दा खुलातर्फ निमाविको सामाजिक शिक्षामा ३ सय ५२, विज्ञानमा ३ सय ६४, गणितमा ३ सय ७० दरबन्दी रिक्त छ । सदस्य सचिव श्रेष्ठले पदपूर्ति खुला गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

आयोगमा पुगेको विवरणअनुसार माध्यमिक तहमा नेपाली २ सय ३०, सामाजिकमा २ सय १, गणित २ सय २८ शिक्षक दरबन्दी रिक्त रहेको विवतरण आयोगमा पठाएको छ । यसैबीच शिक्षक विज्ञापन गर्ने तयारीसँगै केन्द्रले जिल्लान्तर सरुवा रोक्का गरेको छ । केन्द्रले शिक्षकको परीक्षा र आन्तरिक बढुवा गर्नुपर्ने भएकाले हाललाई जिल्लान्तर सरुवा रोक्का गरेको केन्द्रका शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्