‘अनअराइभल भिसा’को व्यवस्थाले पर्यटक आगमनमा सुधार



काठमाडौं,असोज १८। नेपालमा पछिल्ला दिनमा पर्यटक आगमनमा झिनो सुधार देखिएको छ । कोभिड–१९ महामारीको जोखिमकै बीच सरकारले विदेशी पर्यटकका लागि लागू गरेको नयाँ व्यवस्थाका कारण पर्यटक आगमनमा सकारात्मक प्रभाव परेको हो ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अंग्रेजी वर्षको सेप्टेम्बर महीनामा नेपाल आउने पर्यटक संख्या अघिल्लो महीनाको तुलनामा करीब दोब्बर रहेको छ । सेप्टेम्बरमा झन्डै १० हजार पर्यटक आएका छन् । अगष्टमा ५ हजार हाराहारीमा मात्र पर्यटक आएका थिए ।

बोर्डको विवरणमा सेप्टेम्बरमा ९ हजार ९७४ विदेशी पर्यटक नेपाल आएका छन् । उक्त महीना नेपालबाट ६ हजार ९४२ विदेशी बाहिरिएका छन् । यो संख्या हवाई मार्ग भएर नेपाल भित्रिएका पर्यटकको मात्रै हो । अघिल्लो महीना ५ हजार ९१९ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सरकारले विदेशी पर्यटकका लागि गरेको नयाँ व्यवस्थाले यस क्षेत्रमा प्रभाव परेको र विदेशी पर्यटक आगमनमा झिनो रूपमा भए पनि सुधार आएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । ‘विदेशी पर्यटकका लागि अनअराइभल भिसाको व्यवस्थाले पर्यटक आगमन बढेको देखिन्छ,’ उनले भने, ‘आगामी याममा विदेशी पर्यटक बढ्ने अपेक्षा छ ।’

सन् २०२१ को ९ महीनामा ७६ हजार ९१३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२० को सेप्टेम्बरमा ५४८ पर्यटक नेपाल आएका थिए । कोभिडपूर्व सन् २०१९ को सेप्टेम्बर महीनामा ९२ हजार ६०४ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

कोभिड महामारीको सबैभन्दा धेरै असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटकको संख्या बढ्न नसकिरहेको अवस्थामा पछिल्लो सरकारी व्यवस्थाले पर्यटक आगमनमा सुधार आएको बोर्डको बुझाइ छ ।

अघिल्लो महीनाको तुलनामा विदेशी पर्यटकको संख्या दोब्बर हुनु नेपालको पर्यटनमा सुखद भएको विश्लेषण गरिएको छ । यही ५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल आउने विदेशी पर्यटकका लागि अनअराइभल भिसाको व्यवस्था गर्नुका साथै खोपको मात्रा पूरा गर्ने पर्यटकलाई होटल क्वारेन्टिनको व्यवस्था हटाएको थियो ।

बोर्डका निर्देशक लामिछानेले अनअराइभल भिसाको प्रभावले अघिल्लो महीनाको तुलनामा पर्यटक बढेको बताए । यो व्यवस्थालाई सरकारका निकायबीच प्रभावकारी समन्वयमा कार्यान्वयन गरेमा आगामी याम पर्यटनका लागि सुखद हुने उनको भनाइ छ । नेपालले यो सन्देश अन्तरराष्ट्रिय स्रोत बजारमा व्यापक रूपमा फैलाए पर्यटक आगमन बढ्ने व्यवसायीको भनाइ छ ।

नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईं पनि विदेशी पर्यटकको आगमन सहज तुल्याउन सरकारले गरेको पछिल्लो व्यवस्था सकारात्मक रहेको बताउँछन् । अन्तर–सरकारी निकायबीचको समन्वय प्रभावकारी बनाएर गन्तव्य प्रवद्र्धन र अन्तरराष्ट्रिय बजारीकरणमा जुटेमा नेपालको पर्यटन क्षेत्रले फड्को मार्ने उनको भनाइ छ ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटक आगमन पर्यटकका लागि सरकारले गरेको नयाँ व्यवस्थाले विश्व बजारमा सकारात्मक सन्देश गएको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए । बोर्डका अनुसार सन् २०२० मा २ लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल घुम्न आएका थिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्