१६ नेपालीको ट्याक्स हेभन मुलुकमा लगानी



काठमाडौं, असोज १८ । कानुनी छिद्रको प्रयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको धन ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफसोर कम्पनी’ खोलेर गरेको लगानी र सेयर खरिद–बिक्रीको खुलासा भएको छ ।

आईसीआईजेसहित विश्वभरका १ सय ४० बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर भएको खुलासाअनुसार नेपालका दुई ठूला व्यापारिक घराना चौधरी ग्रुुप र गोल्छा अर्गनाइजेसन सम्बद्ध व्यक्तिसमेत त्यस्तो कार्यमा संलग्न भएको भेटिएको हो ।

आईसीआईजेले ९० देशका ३ सय ३० जनाभन्दा धेरै राजनीतिकर्मी, विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, व्यवसायी, सरकारी अधिकारी, सेलेब्रेटी र अपराधमा संलग्नहरूले समेत अफसोर खाता र सेल कम्पनीमार्फत अवैध रकम लुकाएको र छाया अर्थतन्त्र चलाइरहेको खुलासा गरेको हो ।

प्यान्डोरा पेपर्स खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र (आईसीआईजे)को नेतृत्वमा १ सय १७ देशका ६ सय बढी पत्रकारको सहभागितामा गरिएको खोज हो । यो खोजमा १ सय ४० बढी सञ्चारमाध्यम र सञ्चार संस्था सहभागी थिए ।

प्यान्डोरा पेपर्सले खुलासा गरेको अफसोर खाता र सेल कम्पनीमा १६ जना नेपालीको नाम पनि जोडिएको छ ।

गैरकानुनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाम मात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र सेयर खरिदबिक्री गर्ने काममा नेपाली पनि संलग्न रहेको प्रमाण फेला परेको छ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्