भाडा वृद्धिकाे माग गर्दै नुवाकोट आवतजावतका सार्वजनिक यातायात समेत ठप्प



नुवाकोट, असोज १८ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सवारी भाडा नबढेकाे भन्दै नुवाकोटका सार्वजनिक बस व्यवसायीहरु पनि हड्तालमा उत्रिएका छन् ।

पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै उनीहरु हड्तालमा उत्रेकाले नुवाकोटको छहरे- टोखा हुँदै काठमाडौं आवतजावत गर्ने सबै प्रकारका सार्वजनिक यातायात नचलेको छहरेस्थित प्रहरी चौकीका असई रामबहादुर घिसिङले बताए ।

घिसिङका अनुसार भाडा बढाउनुपर्ने माग गर्दै व्यवसायीहरु हड्तालमा उत्रेकाले जिल्ला आवतजावत गर्ने मुख्य सडकखण्ड छहरे-टोखा, बालाजु-ककनी हुँदै त्रिशुली, गल्छी हुँदै विदुर चल्ने कुनै पनि सार्वजनिक यातायात नचलेको बताए ।” व्यवसायीहरुले मुख्य सडक क्षेत्रमा यातायात जाम गरेर विरोध प्रदर्शन गरिरहेको बताइएको छ।

तेलको मूल्य ८० रुपियाँबाट ११३ पुग्दा पनि १५ रुपियाँ भाडा कायम रहेकाले आन्दोलन गर्नुपर्ने अवस्था आएको बस व्यवसायीहरुको भनाइ छ । बस व्यवसायी हड्तालमा उत्रिएपछि दशैको मुखैमा रहेका सर्वसाधारण भने मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्