पूँजीबजारमा परेको असरबारे उद्योग वाणिज्य संघले भन्यो : नीति नियम बनाउँदा सरोकारवालाहरुसँग पनि छलफल गर



काठमाडौं,असोज १९ । नेपाल उद्योग वाणिज्य महासंघले केही समययताको नीतिगत अस्थिरताका कारण पूँजीबजारमा उतार चढाव आएको बारे ध्यानाकर्षण भएको बताएको छ ।

महासंघले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै पूँजीबजार सम्बन्धी नीति नियम बनाउँदा सरोकारवालाहरुसँग पनि छलफल र विमर्श गर्न सम्बन्धित सबैमा आग्रह गर्दछ भनिएको छ ।

साथै विज्ञप्तिमा पूँजीबजारमा जोखिम पनि रहने हुँदा लगानीकर्ताहरुलाई आफूले कारोबार गर्न खोजेको कम्पनी बारेको वित्तीय लगायतका आवश्यक जानकारी हासिल गरी विवेकपूर्ण लगानी गर्न पनि आग्रह गरिएको छ । 

महासंघले बजार व्यवस्थित बनाउन आवश्यक अन्य नीतिगत व्यवस्था, पर्याप्त सूचना प्रवाह हुने संयन्त्रको निर्माण, प्रविधिको उच्चतम प्रयोग र नयां लगानीका साधन एवं उपकरण बढाउन पनि सम्बन्धित निकायसमक्ष माग गरेको छ । 

साथै उसले पूँजीबजारको विकास एवं प्रवर्द्धनमा नियामक निकाय लगायत अन्य सरोकारवालाको सकारात्मक भूमिका आवश्यक हुने हुँदा त्यसतर्फ सबैले योगदान गर्न पनि सबैको ध्यानाकर्षण गराएको छ । 


महासंघले कोभिड १९ महामारी र त्यसलाई नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीका कारण अर्थतन्त्रमा नकारात्मक असर परेतापनि  नेपालको पूँजीबजार भने यस अवधिमा गतिशील रही पूँजीबजारको इतिहासमा सर्बाधिक राजस्वसमेत प्रदान गर्न सफल रहेको बताएको छ ।

बजारमा प्रविधिको प्रयोग र बैंक  तथा वित्तीय संस्थामा अधिक तरलता रहँदा धेरै लगानीकर्ताले अवसर पाएको भन्दै उसले अहिले डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या नै करीब ४५ लाख नाघ्नुले यसतर्फको आकर्षण बढ्दै गएको देखाएको उल्लेख गरेको छ ।

साथै उसले मूलतः अर्थतन्त्रको अवस्था र लगानीकर्ताको मनोविज्ञानले प्रभाव पार्ने बजारको स्वच्छ स्वस्थ र प्रतिष्पर्धी विस्तार एवं विकासका लागि नीतिगत स्थायित्व र प्रष्टता आवश्यक रहन्छ भनेको छ । 

विज्ञप्तिमा मूल्यजस्तो संवेदनशील विषयमा अन्य निकायहरुको हस्तक्षेप हुनु, बैँक तथा वित्तिय र बीमा कम्पनीहरुको लगानी सीमालाई संकुचन गरिनु, शेयर धितो कर्जामा लगाईएको एकल ग्राहक कर्जा सीमा तोक्नु, सूचीकृत कम्पनीले आफ्नो आवश्कता अनुसार हकप्रद तथा अन्य विधिबाट पूँजी संकलन गर्न रोक लगाउनु, विद्युत् नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरीदविक्री गर्दा १५ दिन अगाडि नै स्वघोषणा गर्नुपर्ने व्यवस्था जस्ता विभिन्न नीतिगत परिवर्तनको कारण शेयरबजारमा असर परेको देखिएको उल्लेख छ ।

साथै  शेयर बजार परिसूचक घटबढ हुने क्रममा भदौ पहिलो साता यता समग्रमा पूँजीबजार ओरालो लागेको देखिन्छ भन्दै विज्ञप्तिमा यसले आम लगानीकर्तालाई समेत सशंकित बनाएको देखिएको र उक्त नीतिगत व्यवस्थाहरुको तत्काल संशोधन एवं परिमार्जन गर्न आवश्यक रहेको पनि उल्लेख गरिएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्