कुखुराको दानाको मूल्य बढ्यो



काठमाडौं,असोज २० । कुखुरालाई खुवाउने दानाको मूल्य बढेको छ । दाना उत्पादन गर्न आवश्यक पर्ने कच्चापदार्थ भटमासको पिनाको मूल्य अन्तरराष्ट्रिय बजारमै बढेपछि नेपालमा पनि यसको मूल्यवृद्धि भएको हो । नेपाली उद्योगी व्यवसायीले दाना उत्पादनका लागि मुख्य कच्चापदार्थ भटमासको पिना विशेषगरी भारत र अमेरिकाबाट आयात गर्छन् । गतवर्ष ती देशमा भटमासको उत्पादनमा ह्रास आएकाले दानाको कच्चापदार्थको मूल्य बढेको बताइएको छ ।

हाल दानाको मूल्य प्रतिकिलो २ रुपैयाँका दरले बढाइएको छ । बढाइएको नेपाल दाना उद्योग संघले बताएको छ, जसअनुसार ‘बी जीरो’ दानाको मूल्य प्रतिकिलो ६४ बाट बढाएर ६६ रुपैयाँ पुर्याइएको छ भने ‘बी वान’ दानाको मूल्य प्रतिकिलो ६३ बाट बढाएर ६५ रुपैयाँ पु¥याइएको छ । त्यसैगरी ‘बीटू’ र ‘बीथ्री’ दानाको मूल्य पनि प्रतिकिलो २ रुपैयाँका दरले मूल्य बढाएर क्रमशः ६४ र ६३ रुपैयाँ कायम गरिएको छ ।

करीब एक वर्ष अवधिमा भटमासको पिनाको मूल्य किलोमै ५५ रुपैयाँले बढेर ७० बाट १२५ रुपैयाँसम्म पुगेको संघका अध्यक्ष रबिन पुरीले बताए । त्यसैगरी ८० पर्ने सोयाको मूल्य बढेर प्रतिकिलो ११५ रुपैयाँ पुगेको छ । भटमासको पिनासँगै दाना बनाउन प्रयोग गरिने अर्को मुख्य कच्चापदार्थ मकैको मूल्य समेत बढेको छ । प्रतिकिलो २० देखि २५ रुपैयाँ पर्ने मकैको मूल्य बढेर अहिले ३५ रुपैयाँसम्म पुगेको संघले बताएको छ ।

नजिकको छिमेकी मुलुक भारतमा भटमासको उत्पादन घटेपछि भारतीय व्यापारीले समेत अमेरिकाबाट आयात गरी नेपाली व्यापारीलाई विक्री गर्दा महँगो परेको अध्यक्ष पुरीले बताए । ‘अहिले परेको उत्पादन लागत अनुसार प्रतिकिलो दानामा ८ रुपैयाँसम्म मूल्य बढाउनुपर्ने हो,’ उनले भने, ‘तर एकैपटक मूल्य बढाउँदा कुखुरापालक किसान हतोत्साहित हुन सक्ने भएकाले २ रुपैयाँ मात्र मूल्य बढाइएको हो ।’ दानाको कच्चापदार्थको मूल्य आकासिनुको अर्को मुख्य कारण पछिल्लो समय चिनियाँ व्यवसायीले भटमासको खपत अत्यधिक रूपमा बढाएकाले अन्य देशमा अभाव हुनु पनि रहेको बताइएको छ । नेपालमा दाना बनाउन प्रयोग गरिने भटमास र मकै अमेरिका, ब्राजिल, भारत लगायत देशबाट आयात हुने गरेको छ । दाना बनाउन प्रयोग गरिने कच्चापदार्थमध्ये भटमास ९९ प्रतिशत र मकै ७० प्रतिशत आयात गर्नुपर्ने अवस्था छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्